सोमवार, माघ ७, २०८१

डेढ दशकपछि धनगढी–दिपायल द्रुतमार्गको ट्रयाक खुल्यो


कान्तिपथ


धनगढी–दिपायल द्रुतमार्ग बनाउनका लागि प्रक्रिया सुरु गरिएको डेढ दशकपछि ट्रयाक खुलेको छ । कैलालीको चुरे गाउँपालिका–१ बबैना–ओजेना तीन किलोमिटर सडकखण्डको ट्रयाक खुलेसँगै खुटिया–दिपायल दु्रतमार्गको ट्रयाक पूरा भएको हो ।

धनगढी–दिपायल द्रुतमार्ग निर्माण आयोजना कार्यालयका अनुसार कैलाली र डोटी खण्डमा ट्रयाक खोल्ने काम सकिएको बताउँदै गाडी सञ्चालनका लागि ग्रेडिङ गर्न बाँकी छ । कैलाली खण्डमा पर्ने बबैना–ओजेनामा तीन किलोमिटरमा ट्रयाक खोल्ने काम भएसँगै अब ग्रेडिङ गर्ने कार्य अघि बढाइने आयोजनाका इञ्जीनियर दिनेश रैखोलाले जानकारी दिनुभयो ।

विसं २०६४ मा खुटिया–दिपायल द्रुतमार्गको औपचारिकरूपमा सर्भे गरी ट्रयाक खोल्ने कार्य थालिएको थियो । त्यसबेला खुटियाबाट दिपायलसम्म ८२ किलोमिटर सडक सर्भे भए पनि पछि कैलालीको स्याउलेबाट धनगढीसम्मको १० किलोमिटर सडक पनि थपेर ९२ किलोमिटरको धनगढी–दिपायल द्रुतमार्ग बनाउने निर्णय भएको थियो ।

अहिले सो सडकको धनगढी–स्याउले खण्डमा कालोपत्र निर्माणका लागि काम सुरु भएको छ । खड्का कृष्ण नारायणम् जेभीले भ्याटबाहेक रु १६ करोड ४० लाखमा ठेक्का पाएपछि धनगढीको पिपलचौताराबाट स्याउलेसम्मको १३.४ किलोमिटरमा कालोपत्र गर्नका लागि काम सुरु भएको हो ।

ठेक्का सम्झौताअनुसार धनगढी उपमहानगरपालिका–५ हसनपुरस्थित पिपलचौताराको सामुदायिक प्रहरी कार्यालयबाट स्याउलेमा पर्ने पूर्वपश्चिम राजमार्गभन्दा केही माथिसम्म कालोपत्र गरिने इञ्जीनियर रैखोलाले बताउनुभयो । उहाँले गत आर्थिक वर्षको असार २० गते आउँदो ३० महिनामा कालोपत्र गरिसक्ने गरी ठेक्का सम्झौता भएको बताउनुभयो ।

धनगढी–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका अनुसार चालु आवमा धनगढीबाट १३.४ किलोमिटर र डोटीको दिपायलबाट ९.५ किलोमिटर सडकमा कालोपत्र गर्ने सम्झौता भएको आयोजना कार्यालयले जनाएको छ । आयोजनाका इञ्जीनियर रैखोलाका अनुसार धनगढी–स्याउ सडकखण्ड कालोपत्रका लागि अहिले सो सडकखण्डको दायाँबायाँ दुवैतर्फ नाली निर्माण गरी सडकको तह मिलाउने काम भइरहेको छ ।

यसैगरी सुदूरपश्चिमका मुख्यमन्त्री चिलोचन भट्टले सोमबार सो सडकखण्डको स्थलगत अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा सो दु्रतमार्गको ट्रयाक खोल्ने काम सम्पन्न भएपछि थप स्त्तरोन्नतिको कार्यले गति लिने उहाँले बताउनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत