काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ प्रक्रिया तीव्र बनाउँदै २४ घण्टाभित्र लाइसेन्स उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याइएको बताएका छन्।
काभ्रेको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्दै मन्त्री तिमिल्सिनाले ट्रायल पास गरेर पनि लामो समयसम्म लाइसेन्स नपाउने समस्या अब अन्त्य हुने बताए। उनका अनुसार राजस्व तिरेको २४ घण्टाभित्र लाइसेन्स छापी सेवाग्राहीलाई हस्तान्तरण गरिनेछ।
उनले सबै बाँकी लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य रहेको पनि उल्लेख गरे। साथै, विगतमा प्रयोगविहीन रहेका उपकरणहरू सञ्चालनमा ल्याउँदै छपाइ कार्यलाई प्रभावकारी बनाइएको बताए।
मन्त्री तिमिल्सिनाले सुरक्षण मुद्रण केन्द्रलाई राज्यको महत्वपूर्ण सम्पत्तिका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै उपकरणहरूको पूर्ण उपयोग गर्न निर्देशन दिए। उनले नागरिकको डाटा सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्ने र सेवा प्रवाहलाई अझ सहज बनाउनुपर्ने बताए।
त्यसैगरी, देशभर मोबाइल नेटवर्क र इन्टरनेट सेवाको पहुँच विस्तार तथा गुणस्तर सुधार गर्ने विषय पनि सरकारको प्राथमिकतामा रहेको मन्त्री तिमिल्सिनाको भनाइ छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ