सत्तारुढ गठबन्धनमा महानगरपालिका भागबण्डामा सहमति जुटेको छ । मंगलबार दिउँसो बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले ६ मध्ये तीन महानगरको नेतृत्व कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक/एक महानगरको नेतृत्व लिने सहमति गरेको स्रोतले जनाएको छ ।
नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने गठबन्धनको बैठकमा सहभागी एक नेताले जानकारी दिए । पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले पाउनेछ । त्यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकाको नेतृत्व पाउनेछ ।
महानगरपालिकाको प्रमुखमा सहमति जुटाएको सत्तारुढ गठबन्धनले उपमेयरको भागवण्डा पनि सकेको छ । गठबन्धनको बैठकले कांग्रेसलाई तीन र अरुलाई एक/एकवटा महानगरको उपमेयर भागवण्डा गरेको हो ।
काठमाडौ, ललितपुर र विराटनगरमा मेयर पाएको कांग्रेसले पोखरा, वीरगञ्ज र भरतपुरको उपमेयरमा पाउनेछ । नेकपा एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट काठमाडौंमा उपमेयरमा प्रतिष्पर्धा गर्ने एक नेताले जानकारी दिए । सहमतिअनुसार ललितपुरमा माओवादीका तर्फबाट उपमेयरका उम्मेदवार उठ्नेछन् भने बिराटनगरमा जसपाले उममेयरको टिकट सुनिश्चत गरेको छ ।
त्यस्तैगरी उपमहानगरतर्फ मंगलबार दिउँसोको सहमतिमा घोराही र जितपुर सिमरा उपमहानगर मेयर माओवादी केन्द्रको भागमा राखिएको थियो । हेटौंडा उपमहानगरपालिका नेकपा एकीकृत समाजवादीको भागमा राखिने सहमति थियो । तर, जनकपुर र नेपालगन्जमा भने कांग्रेस र जसपाको अडान रहेपछि उपमहानगरमा सहमति जुट्न सकेन।
त्यस्तै इटहरी, धरान, कलैया, बुटवल, तुल्सीपुर, नेपालगन्ज र धनगढी मेयर नेपाली कांग्रेसको भागमा परेको थियो । जनकपुर जसपालाई दिने सहमति थियो । राति ती दुई उपमहानगरमै सहमति जुट्न नसकेपछि बैठकबाट नेताहरू उठेका थिए।
त्यस्तैगरी उपमेयरतर्फ कांग्रेसले जनकपुर, हेटौंडा, जितपुर सिमरा र घोराही उपमहानगर उपमेयर लिने धरान उपमहानगरपालिका उपमेयर माओवादी केन्द्रलाई दिने सहमति मंगलबार दिउँसो भएको थियो ।
एकीकृत समाजवादीले इटहरी, बुटवल र तुल्सीपुरमा उपमेयर लिने तथा जसपाको भागमा कलैया उपमहानगरपालिका उपमेयर दिने सहमति थियो । नेपालगन्ज उपमेयर जसपा र धनगढी उपमेयर माओवादीले राख्ने सहमति थियो ।