मङ्लबार, माघ २९, २०८१

निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता


कान्तिपथ


भक्तपुरका राजनीतिक दलले स्थानीय निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले निर्वाचनलाई निष्पक्ष, स्वच्छ र धाँधलीरहित बनाउन निर्वाचन कार्यालय, प्रहरी प्रशासन र निर्वाचनमा खटिने कर्मचारीले पनि निष्पक्ष भएर काम गर्नुपर्नेमा जोड दिएका छन् ।

जिल्ला प्रशासन कार्यालयको आयोजनामा मङ्गलबार सम्पन्न निर्वाचन आचारसंहिता कार्यान्वयन विषयको अन्तक्र्रिया कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिले आचारसंहिताबारे आयोगले थप प्रष्ट पार्नुपर्नेमा समेत जोड दिएका छन् ।

छलफलमा कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव सुशील बस्नेतले कर्मचारीले विगतका निर्वाचनमा जस्तै आगामी निर्वाचनमा निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै आफ्नो पार्टीले आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाउनुभयो ।

नेकपा (एमाले)का जिल्ला अध्यक्ष वचन देउजाले निर्वाचन ‘आचारसंहिता पालना गर्नका लागि निर्माण गरिएको हो’ भन्ने मनन् गरी सबै दलले यसलाई कार्यान्वयमा उतार्न सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल मजदुर किसान पार्टीका प्रतिनिधि पाण्डव सुवालले आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीमा तत्काल कारवाही गरीे सजाय दिनुपर्ने सुझाव दिनुभयो ।

नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक सुनिल गोठे वासुले विगतमा दलितको सूचीमा सूचीकृत नभएका थरलाई समेत दलितको कोटामा उम्मेदवारी दिँदा पनि कारवाही नभएको गुनासो गर्दै आगामी निर्वाचनमा त्यस्ता गल्ती दोहो¥याउन नहुने सुझाव दिनुभयो ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि दलका प्रतिनिधि र उम्मेदवारसँग निर्वाचन आचारसंहिताबारे थप छलफल गर्ने जानकारी दिनुभयो । उहाँले निर्वाचनमा आयोगमा बसेर दल स्वयंले निर्वाचन आचारसंहिता निर्माण गरेको स्मरण गराउँदै यसको पालना गर्नु सबैको दायित्व भएको बताउनुभयो ।

“निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित बनाउन दलकै मुख्य भूमिका हुन्छ”, उहाँले भन्नुभयो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचन स्वच्छ, धाँधलीरहित र शान्तिपूर्ण हुनेमा शङ्का नगर्न आग्रह गर्नुभयो । उहाँले आचारसंहिता धेरै लामो छलफलपछि कार्यान्वयनमा आएको जनाउँदै यसमा भएका व्यवस्था सबैले पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैबीच भक्तपुरमा यही वैशाख ८ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने भएको छ । यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि भक्तपुर–२ स्थित जनज्योति पुस्तकालयको पुरानो भवन दरबार स्क्वायरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ ।

यसैगरी मध्यपुरथिमि नगरपालिकाका लागि कृषि विकास बैंकको तालिम केन्द्र बोडे, सूर्यविनायक नगरपालिकाको लागि राष्ट्रिय प्राणी उद्यान सूर्यविनायक, चाँगुनारायण नगरपालिकाका लागि नेपाल विद्युत् प्राधिकरण केन्द्र खरिपाटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी गरिएको प्रजिअ शर्माले जानकारी दिनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत