सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी सिर्जना सिंह उम्मेद्वार बन्ने लगभग निश्चित जस्तै छ । महानगर कार्यसमितिले आकांक्षीका नाम केन्द्रलाई सिफारिस नगर्दै सिंहलाई उम्मेदवार बनाउन नेताहरु सहमत भएका छन् ।
विधानतः महानगर कार्यसमितिले सिफारिस गरेका नामबाट केन्द्रीय संसदीय समितिले उम्मेदवार छनोट गर्ने व्यवस्था छ । काठमाडौं कांग्रेसको राजनीतिमा पकड सिर्जनाका पतिसमेत रहेका कांग्रेस नेता प्रकाशमान सिंहमा छ । उनले इच्छाएकै व्यक्ति काठमाडौं मेयरको उम्मेदवार हुँदै आएका छन् । लामो समय सक्रिय राजनीतिमा नरहेकी सिंहले मेयरको इच्छा राखेपछि अन्य आकांक्षी पछि हट्नुपरेको छ ।
विराटनगर महानगरपालिका जनता समाजवादी पार्टी नेपालले मेयर तथा उपमेयरको नाम केन्द्रीय कार्यालयलाई सिफारिस गरेको छ । जसपा विराटनगर महानगर समितिका अध्यक्ष अमरेन्द्र यादवले केन्द्रीय अध्यक्षलाई सम्बोधन गरी आज आठजनाको नाम सिफारिस गरेको हो ।
सिफारिस हुनेमा भुपराज राई, डा.रामविलास यादव, अमरेन्द्र यादव, मो.नसरुल, विमला अर्याल, उमेश यादव, सदिना खातुन र कुन्ता राई रहेका छन् । विराटनगर महानगरपालिकाको मेयर नेपाली काँग्रेसले पाएको छ भने जसपालाई उपमेयर दिइएको छ । महानगर समितिका अध्यक्ष अमरेन्द्र यादव पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् ।
चुनावी तालमेल गर्न तयार भएको माओवादी केन्द्रले भरतपुर महानगरपालिकालाई प्रतिष्ठाको विषय बनाएको छ । भरतपुरको मेयर कुनै हालतमा नछाड्ने माओवादीको अडान थियो । गठबन्धनमा माओवादी केन्द्रले भरतपुरको मेयर र ललितपुरको उपमेयर पाएको छ । माओवादी केन्द्रमा मेयरको उम्मेदवारमा रेणु दाहालको नाम निर्विकल्प जस्तै छ । उनी पार्टी अध्यक्ष प्रचण्डकी छोरी हुन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ