निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाबाट नेकपा एमालेको तर्फबाट मेयर पदका लागि उम्मेदवार बनेका केशव स्थापितलाई २४ घण्टे अल्टिमेटम दिंदै स्पष्टीकरण सोधेको छ । आयोगले सोमबार एक पत्र पठाई स्थापितसँग स्पष्टीकरण माग गरेको हो ।
स्थापितले व्यक्त गरेका कतिपय शब्दहरुबारे आयोगमा उजुरी आएकाले त्यसअनुसार के भएको हो सोबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्यालले जानकारी दिएका छन् ।
यही वैशाख १५ गते काठमाडौंको धुम्बाराइस्थित नेशनल कलेजमा भएको कार्यक्रममा स्थापितलाई यौन दुर्व्यवहारसम्बन्धी प्रश्न सोधिएको थियो । जवाफमा उनले प्रश्नकर्तालाई नै ‘यू आर नाइस लेडी तर थुतुनो ठीक छैन’ भनेका थिए ।
प्रश्नकर्तालाई लक्षित गरेर स्थापितले दिएको अभिव्यक्तिका सम्बन्धमा उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो । सार्वजनिक मञ्चबाटै महिलामाथि हिंसा भएको भन्दै उनीमाथि चौतर्फी आलोचना खनिएको हो ।
आयोगका अनुसार उक्त अभिव्यक्ति ‘तपाईंले यस्तो भन्नुभएको हो कि होइन ? भनेको भए आचारसंहिता विपरीत भयो कि भएन?’ भन्ने प्रश्नको स्पष्टीकरण दिन भनेर स्थापितलाई पत्र पठाइएको छ।
निर्वाचन आयोगको कानून तथा राजनीतिक दल महाशाखाका सहसचिव यज्ञ भट्टराईले स्थापितको ‘ विशेषगरी महिलाका विषयमा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता अनुकूल नभएको हुँदा के कसो भएको हो, चौबिस घण्टाभित्र स्पष्टीकरण पेश गरिसक्नुपर्ने ‘ भनेर जनाएका छन् ।
पत्र बुझेको चौबिस घण्टा भित्र स्थापितले स्पटीकरण आयोग समक्ष बुझाउनुपर्ने उनले जनाएका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ