विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भारतमा कोरोनाका कारण ४७ लाख मानिसको मृत्यु भएको दाबि गरेको छ । यो संख्या भारतले देखाएको आधिकारिक तथ्यांकभन्दा करिब १० गुणा बढी हो । तर, भारत सरकारले सो दाबीमाथि प्रश्न उठाएको छ ।
डब्लुएचओले कोरोना महामारीका कारण विश्वमा अहिलेसम्म करिब १ करोड ५० लाख मानिसको ज्यान गएको अनुमान गरेको छ । यो संख्या दुई वर्षमा कोभिडका कारण हुने मृत्युभन्दा १३ प्रतिशत बढी हो ।
धेरै देशहरूले कोभिडबाट मृत्यु हुनेको संख्यालाई कम गरी पेश गरेको डब्ल्यूएचओको विश्वास छ । सङ्गठनका अनुसार ५४ लाखको मृत्युलाई मात्रै आधिकारिक गरिएको छ ।
डब्ल्यूएचओले भारतमा मृतकको जुन संख्या बताएको छ त्यो संख्या संसारभरी भएको मृत्युको एक तिहाई हो । तर भारत सरकारले डब्ल्यूएचओको मूल्याङ्कन विधिमाथि प्रश्न उठाएको छ । उनीहरुले प्रयोग गरिएको मोडलको वैधतामाथि पनि प्रश्न उठाइएको छ ।
‘यो प्रक्रिया, कार्यप्रणाली र नतिजाहरूमा भारतको आपत्तिको बाबजुद डब्ल्यूएचओले थप मृत्युदरको अनुमान जारी गरेको छ,’ भारत सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यस विषयमा भएका अन्य अध्ययनहरूमा पनि भारतको बारेमा यस्तै मूल्याङ्कन गरिएको छ।
भारतको आधिकारिक तथ्यांक अनुसार देशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ९७५ पुगेको छ । भारतमा आजकाल दैनिक तीन हजारको हाराहारीमा संक्रमण देखिएको छ । भारतमा सबैभन्दा बढी मृत्यु दोस्रो लहर (डेल्टा भेरियन्ट) का बेला देखिएको थियो ।
डब्ल्यूएचओले यस मूल्याङ्कनको लागि ‘अतिरिक्त मृत्यु’ विधि प्रयोग गरेको छ । यसको अर्थ महामारी हुनुअघि कुनै क्षेत्रको मृत्युदर कति थियो भन्ने बुझिन्छ । अर्थात् त्यस क्षेत्रमा सामान्यतया कति मानिसको मृत्यु हुन्छ र महामारीपछि त्यस क्षेत्रमा कति मानिसको मृत्यु भयो ।
यी तथ्याङ्कहरूमा कोभिडका कारण प्रत्यक्ष रूपमा नभई कोभिडको प्रभावका कारण मृत्यु भएकाहरू पनि समावेश छन्, जस्तै उपचारका लागि अस्पताल नभेटिएर ज्यान गुमाएकाहरू । यसले केही क्षेत्रमा खराब रेकर्ड राख्ने र संकटको सुरुमा कम परीक्षणलाई पनि जिम्मेवार मानिएको छ ।
डब्ल्यूएचओका अनुसार ५४ लाखको मृत्यु रेकर्ड भएको छ, यसबाहेक मृत्यु भएका ९५ लाखमध्ये अधिकांशको मृत्युको कारण कोभिड मानिएको छ । तथ्याङ्कको मापनको बारेमा बोल्दै डब्ल्यूएचओका तथ्याङ्क विभागकी डा. समिरा अस्माले भनिन्, ‘यो एक त्रासदी हो । ’
उनले भनिन, ‘यो संख्या हैरान गर्ने किसिमको छ र हामीले मृत्युवरण गर्नेहरुको सम्मान गर्नुपछ । हामीले यसका लागि नीति निर्माताहरूलाई जवाफदेही बनाउनुपर्छ । यदि हामीले मृत्यु हुनेको संख्या गणना गर्दैनौं भने, हामीले अर्को पटकको लागि राम्रो तयारी गर्ने अवसर गुमाउनेछौँ ।’
विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले भारतसँगै रुस, इन्डोनेसिया, अमेरिका, ब्राजिल, मेक्सिको र पेरु जस्ता देश बढी मृत्यु हुनेमा परेको देखाएको छ । रसियाको लागि, यो संख्या देशमा रेकर्ड गरिएको मृत्युको संख्याको साढे तीन गुणा हो ।
प्रतिवेदनले प्रत्येक देशको जनसंख्याको आकारको सापेक्ष उच्च मृत्यु दरलाई पनि हेर्छ । सन् २०२० र २०२१ मा बेलायतको ‘अतिरिक्त मृत्यु’ दर अमेरिका, स्पेन र जर्मनी जस्ता विश्वव्यापी औसतभन्दा बढी थियो ।
कम मृत्युदर भएको देशमध्ये चीन पनि एक हो । जुन अहिले पनि ‘जिरो कोभिड’ को नीति अवलम्बन गरिरहेको छ । जसमा व्यापक परीक्षण र क्वारेन्टाइन समावेश छ । अस्ट्रेलिया, जापान र नर्वेले कोभिड भाइरसबाट बच्न कडा यात्रा प्रतिबन्ध लगाएका छन् ।
प्रतिवेदन तयार गर्न मद्दत गर्ने शिक्षाविद्हरूले उप–सहारा अफ्रिकाका देशहरूको लागि उनीहरूको तथ्याङ्क अनुमानमा आधारित रहेको स्वीकार गरे । किनभने यस क्षेत्रमा मृत्युको बारेमा धेरै थोरै तथ्याङ्कहरू छन् । अफ्रिकाका ५४ देशहरूमध्ये ४१ देशका लागि कुनै विश्वसनीय आँकडा थिएनन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ