नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरीजस्तो भएको टिप्पणी गरेका छन्। अहिलेको गठबन्धन सरकार पनि जेरीजस्तै गुजुल्टिएको, अलमलिएको भएको ओलीले बताए।
‘सरकारको नीति तथा कार्यक्रम तेलमा मात्र तारेको जेरीजस्तो छ, जुन चास्नीमा डुबाइएको छैन। भाषिकदेखि अन्य अशुद्धता त झन् कति हो कति। नीति तथा कार्यक्रमको एउटै बुँदामा पनि कुराहरु बाझिएका छन्। गठबन्धनका पार्टीहरुले अलगअलग ठाउँमा तयार पारेर ल्याएर जोडेजस्तो देखिएको छ। बुँदा नम्बर ७३ र ७७ हेर्दा अरु बुँदाको अनुमान पनि सहजै गर्न सकिन्छ,’ ओलीले भने।
प्रतिपक्षी सिध्याउने उद्देश्यका साथ निर्वाचनमा मोर्चाबन्दी भएको उनको आरोप छ। विश्वमा यस्तो रणनीति कतै नहुने उनले दाबी गरे। राणाशासनदेखि लोकतन्त्रका लागि लडेर आएको पार्टीलाई सिध्याउँछु भन्नु दुखद् भएको ओलीले बताए।
नीति तथा कार्यक्रमको १४४ औं बुँदामा सबै नेपालीबीच सद्भाव र सहमति हुनुपर्छ भन्ने लेखिएको तर एमालेलाई पत्तासाफ गर्ने नीति लिइएको आरोप उनले लगाए। एमालेका कार्यकर्तमाथि हातपात हुँदा पनि मुद्दा, उजुरी कुनै नलागेको उनले बताए।
नेपाली राजनीतिमा थुप्रै शकुनी र मन्थरा षड्यन्त्ररत रहेको आरोप उनले लगाए। उनीहरूले एमालेलाई परास्त गर्न अनुचित गर्न षड्यन्त्र गरेको उनको भनाइ छ। पासो फालेर गठबन्धनको सरकार बनेको र त्यस्तो सरकारले ल्याएको नीति कार्यक्रम त्यसैको प्रतिविम्ब जस्तो रहेको उनले बताए।
सत्ता गठबन्धनले जस्तोसुकै हानिकारक नीति लिए पनि स्थानीय तहमा लोकतन्त्रको अनुभूति दिलाउने स्थानीय तहमार्फत विकासको अनुभूति दिने र जताको सुखदुःखमा साथ दिने निकाय भएकाले फराकिलो मनका साथ काम गर्न निर्वाचित जनप्रतिनिधिलाई उनले आग्रह गरे।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ