धादिङको निलकण्ठ नगरपालिका वडा नं ६ को वडाध्यक्ष निर्वाचनको मत परिणाम बराबर भएपछि गरिएको गोलाप्रथामा प्रमुख निर्वाचन अधिकृतले सेटिङ गरेको आरोप लागेको छ । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश रमेश प्रसाद ज्ञवालीले सेटिङमै गोलामा संकेत गरेर एक उम्मेदवारलाई तान्न लगाएको भिडियो नै कान्तिपथलाई प्राप्त भएको छ ।
वडाध्यक्षका प्रत्यासी नेकपा (माओवादी केन्द्र) का लक्ष्मण रम्तेल र नेपाली कांग्रेसका उम्मेदवार भूपेन्द्र श्रेष्ठको बराबर मत परिणाम आएको सार्वजनिक भएको थियो ।
वडाध्यक्षका दाबेदार श्रेष्ठ र रम्तेलले ७ सय ५८ मत ल्याएर बराबर भएको सार्वजनिक भएको थियो । मतपरिणाम बराबर भएपछि प्रमुख निर्वाचन अधिकृतले गोलाप्रथा कार्यक्रम राखेका थिए । जसमा माओवादी केन्द्रका उम्मेदवार रम्तेल र नेपाली कांग्रेसका तर्फबाट निर्वाचित मेयर भिम प्रसाद ढुंगाना गोलाप्रथाका लागि निर्वाचन अधिकृतको कार्यकक्षमा पुगेका थिए । नेकपा (माओवादी केन्द्र) का लक्ष्मण रम्तेलले मतगणना कार्यमा पनि आफ्ना प्रतिनिधि नभएको गुनासो गरेका छन् ।
मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालत धादिङका मुख्य न्यायाधीश रमेश प्रसाद ज्ञवालीले गोला तान्नका लागि नेपाली कांग्रेस तर्फका भिम प्रसाद ढुंगानालाई संकेत गरेको भिडियोमा स्पष्ट रुपमा देख्न सकिन्छ । उक्त भिडियोमा न्यायाधीश ज्ञवालीकै संकेत अनुसार ढुंगानाले गोला तानेको देखिन्छ ।
निर्वाचनको २ दिन अघि वैशाख २८ गते निलकण्ठ नगरपालिका वडा नं ६ मा नेपाली कांग्रेसका कार्यकर्ता र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको थियो । झडपमा कांग्रेसका उम्मेदवार श्रेष्ठसहित २० जना घाइते भएका थिए । उक्त आक्रमणमा संलग्न रहेको आरोपमा स्थानीय प्रशासनले चारजना माओवादी कार्यकर्तालाई चुनाव अगाडि नै पक्राउ गर्यो । प्रहरी हिरासतमा रहेका उनीहरूले मतदान गर्न पाएनन् ।
पक्राउपछि उनी हिरासतमै रहँदा भएको मत गणनामा बराबर मतपरिणाम आएको सार्वजनिक भएको थियो । घाइते भएका श्रेष्ठ उपचारका क्रममा रहेकाले उनका तर्फबाट ढुंगानाले गोला तानेका थिए । रम्तेललाई हिरासतबाटै मुख्य निर्वाचन अधिकृतको कार्यकक्षमा पुर्याइएको थियो ।
घटनामा अर्को पनि रोचक तथ्य फेला परेको छ । उम्मेदवारको मनोनयन दर्ता गर्नका लागि निर्वाचन आयोगले बैशाख ११ र १२ गतेको समय तोकेको थियो भने बैशाख १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको थियो । वडा अध्यक्षमा निर्वाचित भएका भनिएका नेपाली कांग्रेसका उम्मेदवार भूपेन्द्र श्रेष्ठको नाम निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावलीमा प्रकाशित गरेकै छैन ।
उम्मेदवारको अन्तिम नामावलीमा रम्तेलसहित ५ जना अन्यको नाम प्रकाशित छ । एमाले, समाजवादी लगायतका दलको उम्मेदवारको नाम भए पनि कांग्रेसका उम्मेदवारको नाम त्यहाँ समावेश छैन ।माओवादीको तर्फबाट वडा अध्यक्ष लडेका रम्तेलले अवैध रुपमा घोषणा गरिएको निर्वाचनको नतिजा बदर गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका छन् । उनी उच्च अदालत जाने तयारीमा रहेको स्रोतले बतायो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ