कैलालीको टीकापुर नगरपालिका–१ का गणेश शाही सात वर्ष वैदेशिक रोजगारमा रहेर घर फर्किनुभएको छ । ऊर्जावान् उमेरको महत्वपूर्ण समय विदेशमा बिताउनुभएका उहाँ अब आफ्नै क्षेत्रमा केही गर्ने मनसायका साथ लागिपर्नुुभएको छ ।
“विदेशमा कमाएर जिन्दगीभरिलाई नहुँदोरहेछ । काम सानै भए पनि आफ्नै देशमा गर्नसके त्यसले जीवनभरलाई हुन्छ ।” शाहीले भन्नुभयो, “मेरो विदेश जाने मनसाय अब छैन । आफ्नै क्षेत्रमा केही गर्न चाहान्छु । स्थानीय सरकार नजिकको सरकार भएकाले होला धेरै अपेक्षा युवाहरुकै हुन्छ । उहाँले स्थानीय सरकारले आफ्नै क्षेत्रमा काम गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिँदै आगामी आर्थिक वर्षको बजेटमा युवाका लागि लोकप्रिय कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै आउनुभएको छ ।
टीकापुर नगरपालिका–२ का पदम सापकोटा एक दशकभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा आबद्ध हुनुहुन्छ । केही वर्षदेखि पत्रकारिता सँगसँगै व्यावसायिक कृषिखेतीमा लाग्नुभएका उहाँलाई अहिले पछाडि फर्केर हेर्नु परेको छैन । पत्रकारिताबाट त्यत्तिको सफलता प्राप्त गर्न नसक्नुभएका सापकोटाले कृषिबाट भने राम्रो आम्दानी गर्दै आउनुभएको छ । स्थानीय दैनिक पत्रिका चलाउँदै आउनुभएका उहाँ स्थानीय सरकारले आगामी आर्थिक वर्षमा युवाका भावनालाई समेटेर नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै आउनुभएको छ ।
नगरपालिकालाई युवा परिचालन नीति ल्याउन आग्रह गर्दै सापकोटाले क्षमताका आधारमा युवालाई नगरको विकासमा जोड्न सक्नुपर्ने र राम्रो काम गर्नेलाई पुरस्कारको व्यवस्थासमेत गर्न माग गर्दै आउनुभएको छ । “युवालाई रोजगार र काम चाहिएको छ । उत्पादित वस्तुको बजारीकरण चाहिएको छ । त्यो वातावरण स्थानीय सरकारले बनाउन सक्नुपर्छ”, उहाँ भन्नुहुन्छ, “स्थानीय सरकारले आफ्नो पालिकाभित्रका युवाको संरक्षण गरेर काम गर्न सक्यो भने देखेको विकास र समृद्धिको यात्रा लामो छैन । विशेषगरी उत्पादन भएको बस्तुको बजारीकरणको जिम्मा मात्रै स्थानीय सरकारले लिनसके पनि थुप्रै युवा व्यवसाय तिर मोडिन सक्छन् ।”
टीकापुर नगरपालिका–३ का राजेन्द्र विश्वकर्मा पनि सामाजिक अभियन्ताका रुपमा काम गर्दै आउनुभएको छ । विशेषगरी समाजका लागि एक घण्टा अभियानका अभियान्ता उहाँ स्थानीय तहको बजेटमा नयाँपनको खोजीमा हुनुहुन्छ । विगतका वर्षमा बजेटले युवालाई कतै पनि समेट्न नसकेको बताउँदै विश्वकर्माले स्थानीय सरकार र युवाको संयुक्त लगानी रहने खालका कार्यक्रममा जोड दिनुपर्ने बताउनुभएको छ ।
“बजेटले स्थानीय युवालाई रोजगारसँग जोड्ने खालका कार्यक्रम बनाउनुपर्छ । त्यसका लागि स्थानीय सरकार र युवाको साझा लगानीमा थुप्रै काम गर्न सकिन्छ त्यसले रोजगारी पनि सिर्जना गर्छ भने नयाँ कामको सुरुआत पनि हुन्छ”, विश्वकर्मा भन्नुहुन्छ, “तालिम दिएर, सीप सिकाएर मात्रै रोजगारी पाउने सम्भावना छैन । पहिला स्रोतको पहिचान गरेर मात्रै सीपका लागि लगानी गर्दा राम्रो होला । विगतमा तालिम लिएर बसेकालाई व्यवस्थापनको बाटो स्थानीय सरकारले खोज्न सक्नुपर्छ ।”
टीकापुरकै बबरजङ्ग शाही लामो समयदेखि टीकापुरमा कराँते प्रशिक्षण गर्दै आउनुभएको छ । उहाँले अहिले पनि २०० भन्दाबढी युवा तथा बालबालिकालाई कराँते प्रशिक्षण गर्दै आउनुभएको छ । पछिल्लो समयमा युवा कुलतमा फस्दै गएकामा तिनलार्ई खेलकुदका माध्यमबाट सही मार्गमा ल्याउन सकिने हुँदा स्थानीय सरकारले खेलकुद क्षेत्रलाई महत्वका साथ हेर्नुपर्नेमा जोड दिँदै आउनुभएका शाही भन्न्ुहुन्छ, “स्थानीय सरकारले युवालाई प्रत्यक्ष लाभ हुने खालका कार्यक्रम सञ्चालन गर्नुपर्छ । पालिकाको प्रत्येक विकासका काममा युवाको सहभागिता गराउन सक्नुपर्छ ।”
उहाँ उल्लेख गर्नुहुन्छ, “युवालाई काम चाहिएको छ । व्यवसायमा संरक्षण चाहिएको छ । युवाको संरक्षणकर्ताकारुपमा स्थानीय सरकार अगाडि आउनुपर्छ ।”
टीकापुर नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा कस्ता नीति तथा कार्यक्रमलाई प्राथमिकता दिने भन्ने विषयमा विभिन्न सरोकारवालासँग छलफल गर्दै आएको छ । नगर प्रमुख रामलाल डगौँरा थारु आवश्यकताका आधारमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तय गरिने बताउनुहुन्छ । भएको स्रोतसाधनको समुचित प्रयोग गरेर नगर समृद्धिको योजना तय गर्ने उहाँको भनाइ छ ।
“हामीसँग थुप्रै सम्भावना छन् । ती सम्भावनालाई पहिचान गरी युवालाई नगरको विकास र समृद्धिमा प्रत्यक्ष जोड्न उत्पादनलाई विशेष महत्वका साथ राखिएको छ”, नगर प्रमुख डगौँरा भन्नुहुन्छ, “युवाले स्थान पाएका छैनन् । नीति निर्माण र सरोकारका विषयमा युवालाई नगर सरकारले स्थान दिन्छ । हाम्रो समृद्ध नगरको परिकल्पना साकार पार्नका लागि युवालाई स्वयंसेवकका रुपमा साथमा लिएर अगाडि बढ्छौँ ।”
नगरपालिकामा आन्तरिक स्रोतसाधनबाटै थुप्रै युवालाई समेट्न सकिने र रोजगारीका अवसरलाई स्थापित गर्नकै लागि नगरपालिकाले लगानी सम्मेलनको तयारी गरिरहेको नगरका उपप्रमुख खड्कबहादुर शाह बताउनुहुन्छ ।
“हामी छिट्टै लगानी सम्मेलनमार्फत नगरमा राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय लगानी भित्र्याउने योजनाका साथ अगाडि बढेका छौँ”, उहाँ भन्नुहुन्छ, “त्यसको आर्थिक क्षेत्रको पाटो मजबुत हुनाका साथै रोजगारीका अवसरसमेत सिर्जना हुनेछ र युवालाई व्यवसायी तथा स्वरोजगार बन्न मद्दत पुग्नेछ ।”
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ