सहकारीका बचतकर्ताको निक्षेप हिनामिना गरेको आरोपमा जेलमा रहेका व्यवसायी इच्छाराज तामाङको मुद्दामा ‘आर्थिक डिल’ गरेको आरोप लागेका जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालाले आफूबाट कुनै अनुचित काम नभएको बताएका छन्।
नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष कानुन व्यवसायी रुद्र प्रसाद पोखरेलसँगको टेलिफोन कुराकानीमा व्यवसायी तामाङलाई धरौटीमा रिहा गर्ने विषयमा १० करोड रुपैयाँको डिल गरेको विषय बाहिरिएपछि कोइरालले आफूबाट कुनै अनुचित कार्य नभएको दाबी गरेका हुन्।
विभिन्न दबाब र प्रभावका बाबजुद पनि आफूले निष्पक्ष भूमिका निर्वाह गरेको पनि कोइरालले उल्लेख गरेका छन्। आफूमाथि न्याय परिषद्बाट छानबिन भए पूर्ण सहयोग गर्ने कोइरालाको भनाइ छ।
‘मबारे आज आएको समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ। मबाट कुनै अनुचित कार्य भएको छैन। विभिन्न प्रभाव र दबाबका बाबजुद निष्पक्ष भुमिका निर्वाह गरेको छु। ममाथि न्याय परिषद्बाट छानबिन होस्, सहयोग गर्ने पूर्ण प्रतिबद्धता वयक्त गर्दछु,’ कोइरालाले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै भनेका छन्।
सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका वचतकर्ताको निक्षेप (बचत रकम) हिनामिना गरेको अभियोगमा हाल पुर्पक्षका लागि थुनामा रहेका इच्छाराज तामाङ सहितलाई धरौटीमा छुटाउने विषयमा न्यायाधीश कोइराला र कानुन व्यवसायी पोखरेलबीच कुराकानी भएको हो।
न्यायाधीश कोइराला र कानुन व्यवसायी पोखरेलबीच भएको टेलिफोन कुराकानीको अडियोमा पोखरेलले कोइरालालाई १० करोड धरौटी माग गरी इच्छाराजलाई रिहा गर्ने आदेश जारी गर्न अफर गरेको सुनिन्छ।
न्यायपरिषद्को बैठक सुरु भएको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार दिउँसोका लागि न्यायपरिषद्को बैठक बोलाएका थिए। काठमाडौंका न्यायाधीश राजकुमार कोइरालाको एक विवादास्पद अडियो सार्वजनिक भएपछि बैठक बोलाइएको हो।
न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यावसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन घुस लेनदेनबारेको अडियो सार्वजनिक भएको थियो। मंगलबार न्यूज २४ टेलिभिजनले अडियो सार्वजनिक गरेको हो। गम्भीर विषयको अडियो बाहिर आएपछि यसबारे बुझ्नका लागि बैठक बसिरहेको हो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ