देशको सबैभन्दा ठूलो दल नेकपा एमाले भूमिगत पार्टी होइन। घनश्याम भुसालको संयोजकत्वमा गठन गरेको अर्थ योजना विभागका एकजना सदस्यको वास्तविक नाम लुकाएर भूमिगत कालमा जस्तै नाम प्रयोग गरिएको छ।
नेकपा एमालेको यसै साता बसेको बैठकले विभिन्न विभागहरु गठन गरेको थियो। त्यसमध्ये भुसालको संयोजकत्वमा गठित अर्थ तथा योजना विभागको एकजना सदस्यमा ‘एम. अधिकारी खोटाङ’ लेखिएको छ।
मंगलबार नेकपा एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन (अपनि) मा अर्थ तथा योजना विभाग सदस्यमा ‘एम. अधिकारी, खोटाङ’ को नाम देखेपछि नेपाल राष्ट्र बैंकभित्र खैलाबैला भयो ।
११ सदस्यीय अर्थ तथा योजना विभागमा योगेन्द्रबहादुर शाही सचिव छन् । एम अधिकारीसहित प्रा. डा. रामचन्द्र आचार्य, डा. रामचन्द्र भट्टराई, देउकाजी गुरुङ, केशरबहादुर साउद, डिल्ली उप्रेती, प्रा.डा. महेश दाहाल, तिलचन्द्र भट्टराई र गोपाल खनाल सदस्य छन् ।
खोटाङका एमाले नेताहरुले पनि आर्थिक विषयमा दख्खल राख्ने, खोटाङ घर भएका, अधिकारी थर भएका, र ‘एम’बाट नाम सुरु हुने एमाले निकट अन्य नेता कायकर्ता को हुन् भन्ने पत्तो पाउन सकेका छैनन् ।
एम. अधिकारी अरु कोही नभएर राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै रहेको धेरैको दाबी छ। गर्भनर अधिकारी खोटाङकै हुन्। उनी विगतमा पनि एमालेको विभिन्न जिम्मेवारीमा रहँदै आएको एमाले नेताहरु बताउँछन्।
राष्ट्र बैंकको गभर्नरजस्तो गरिमामय जिम्मेवारीमा रहेका अधिकारीले आफ्नो वास्तविक नाम राख्न नमिल्ने भएपछि विभागमा उनलाई ‘एम. अधिकारी, खोटाङ’ भनेर नियुक्त गरिएको एमालेका एक नेताले बताए।
गर्भनर अधिकारीले आफू एम. अधिकारी होइन भने तापनि खुल्ला राजनीति गरिरहेको एमालेका नेताहरुले आखिर पार्टीको अर्थ योजना विभागजस्तो विशिष्ट जिम्मेवारीमा रहेका केन्द्रीय नेता मिस्टर एम अधिकारी को हुन् भनेर पहिचान खुलाउन चाहेका छैनन्। एमाले निकट मानिने साईबर सेनालाई भने एम. अधिकारीको फेक अकाउण्ट खोलेको बात लागेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ