नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले विवाद भएपछि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राजीनामा गरेर पद छोड्नुपर्ने बताएका छन् । बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै नेता श्रेष्ठले २०७३ सालमा महाप्रसाद अधिकारी अहिले आएर कसरी एम. अधिकारीमा रुपान्तरण भयो ? भनेर प्रश्न समेत गरे ।
‘हाम्रो राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी हुनुहुन्छ । उहाँ सर्ट फर्ममा एम अधिकारी हो कि भन्ने चर्चा छ । नेकपा एमालेको अर्थ तथा योजना विभागको एक जना सदस्य जो ७३ सालमा महाप्रसाद अधिकारीको नाममा हुनुहुन्थ्यो । त्यही महाप्रसाद अधिकारीको नाममा भएको व्यक्ति अहिले एम. अधिकारीमा रुपान्तरण भएर अर्थ तथा योजनाविद भनेर राखिएको छ’, श्रेष्ठले प्रश्न गर्दै भने, ‘अहिले प्रश्न मात्रै होइन सवैजसोको बुझाई छ कि उहाँ नै त होला । त्यही जिल्लाको एम अधिकारी को होला त अरु ? त्यस्तो चर्चा छ । ’
उनले विवाद आएपनि एमाले वा गभर्नर अधिकारीले स्पस्ट ढंगले प्रस्ट पार्न नसकेको भन्दै पार्न सक्ने अवस्था पनि नरहेको बताए । ‘नेकपा एमाले वा गर्भनर अधिकारीले विश्वसनीय ढंगले खण्डन गर्नुभएको छैन । गर्न सक्ने स्थिति पनि होला नहोला’, उनले राष्ट्र बैक ऐनले कुनैपनि राजनीतिक दलको सदस्य गभर्नर पदमा बस्न मिल्दैन भन्ने उल्लेख गरेको स्मरण गराउँदै श्रेष्ठले भने, ‘यस्तो अवस्थामा उहाँ बसिरहन मिल्छ कि मिल्दैन ? कि त होइन भन्ने पुष्टि गर्ने आधिकारिक कागजात चाहियो होइन भने विवाद भयो अन्योल भयो भन्नेमात्र तर्क गरेर भएन, राजीनामा गर्नु र पद छोड्नुपर्छ ।’
उनले ढाँट छल गर्ने प्रवृति मौलाएर जाँदा देश कहाँ जान्छ भन्ने प्रश्न गर्दै यसबारे सरकार र पार्टीको गम्भीर ध्यानाकर्षण गराए । अधिकारीलाई छलफलको लागि बालुवाटार बोलाएका छन् । बालुवाटार स्रोतकाअनुसार अधिकारी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अर्थ तथा योजना विभागमा सदस्य रहेको समाचार बाहिरिएपछि प्रधानमन्त्री देउवाले छलफलको लागि बोलाएका हुन् ।
एमालेले उक्त विभागको सदस्यको नाम सार्वजनिक गरेको र सदस्यमा एम अधिकारी (खोटाङ) पनि राखेको र त्यो नाम गभर्नर अधिकारी नै रहेको चर्चाको बीच उनको विरोध तथा आलोचना सुरु भएको छ । यो विषय प्रतिनिधिसभामा पनि उठिसकेको छ । माओवादी केन्द्रका भातृ संस्थाहरुले त अधिकारीको राजीनामा मागेर आन्दोलन थाल्ने घोषणा नै गरिसकेका छन् ।
यही सन्दर्भमा प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीलाई बालुवाटार बोलाएर मार्गप्रशस्त गर्न आग्रह गर्न खोजेको बुझिएको छ । राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी गरेको र गभर्ननरजस्तो व्यक्ति पार्टीको व्यक्ति भएपछि राम्रो नीति नआउने आरोप छ । बालुवाटारको छलफलमा केही मन्त्रीहरुको पनि सहभागिता रहेको बुझिएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ