बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • जीवनशैली
  • आज रातिदेखि ठेचोमा नवदुर्गा भवानीको बाह्रवर्षे मेला सुरू: खुसियाली मनाउन रोक !

आज रातिदेखि ठेचोमा नवदुर्गा भवानीको बाह्रवर्षे मेला सुरू: खुसियाली मनाउन रोक !


कान्तिपथ


गोदावरी नगरपालिका-१२ ठेचोमा नवदुर्गा भवानी देवीको बाह्रवर्षे मेलाका साथै जात्रा सुरू हुँदैछ। हरेक बाह्रवर्षमा सो मेला गर्ने परम्पराअनुरूप मंगलबार रातिदेखि जात्रा सुरू हुने भएको हो। राति ८ बजेदेखि ९ बजेपछि नवदुर्गा भवानीदेवी मन्दिरको ढोकामा ताल्चा मारेसँगै मेला तथा जात्रा सुरू हुने भएको नवदुर्गा भवानीदेवी गुठीका अध्यक्ष धर्मराज मालीले बताए।

‘यो जात्रा आउँदो फाल्गुन-चैतमा मात्रै समाप्त हुनेछ,’ उनले भने, ‘सो बन्द मन्दिरको ढोका अगाडि भोलिबाट पूजा गरी जात्रा मनाउँदै अघि बढ्छ।’ सो जात्रामा परम्परागतरूपमा चल्दै आएको तान्त्रिक विधिअनुरूप पूजासमेत हुने गरेको नवदुर्गा भवानी गुठीका नाइके भक्तलाल मालीले बताए।

‘छिट्टै मन्दिर अगाडि छाप्रो बनाउन सुरू गरेर फूलपातीका दिन सुनाकोठीमा रहेको बालकुमारी मन्दिरमा होम गर्नका लागि दक्षिण ललितपुरमा रहेको कोञ्ज्योसोम गाउँपालिका-३ दलचोकीबाट काठ काटेर ल्याएर राख्ने कामसमेत गर्नेछौं,’ उनले भने।

देवीलाई गुप्तवास राखेर मंगलबार मारिएको ताल्चा एक महिनापछि मात्र पञ्चदानका दिनमा खुल्ला गरिने भएको मालीले जानकारी गराए। सो दुर्गा भवानी ताल्चाभित्र गुप्तवास बस्ने भएकाले ठेचोवासीले पनि खुसियाली मनाउन हुँदैन भन्ने मान्यताअनुरूप राति भएपछि घरबाहिरसमेत हिँड्न नहुने धार्मिक मान्यताको बुझाइ स्थानीयवासीमा रहेको छ। सो जात्राअन्तर्गत नवदुर्गा नाचसमेत मञ्चन गर्ने गरिन्छ।

उक्त जात्रा लिच्छवीले पाटनमा किराँत वंशलाई पराजय गरेको इतिहाससँग पनि जोडिएको देखिन्छ। भवानीको जात्रा सुरू भएसँगै सो क्षेत्रमा बाजा तथा घण्टी र सिट्ठी आदि बजाउन नहुने नियम रहेको स्थानीयवासी इना महर्जनले बताइन्।

‘यहाँ जात्रा सुरू भएसँगै कसैको घरमा पाहुना बोलाएर बास बसाउनुसमेत हुँदैन भन्ने चलनसमेत रहेको छ,’ स्थानीयवासी इना महर्जनले भनिन्। ‘मन्दिरको ढोकामा ताल्चा मार्नुअघि आफूहरूले झ्याली पिटेर जात्रा अवधिभर आवश्यक नियम पालना गर्न ठेचोवासीलाई अनुरोध गरिने भएको अध्यक्ष मालीले सुनाए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत