आइतवार, अशोज ९, २०७९

२० मागेको विष बन्दै : परराष्ट्र घुसकाण्डले गर्मायो !


कान्तिपथ


‘खान्की’ को रन्कोले विदेशमा पनि नछाड्दा अहिले परराष्ट्र मन्त्रालय गर्माएको छ ! म्यानपावरवालासँग मागिएको ‘२०’ क्रमशः ‘विष’ मा परिणत हुँदैछ । आर्थिक मामिलामा नेपाली कर्मचारीको बद्मासी मध्ययुरोपस्थित भूपरिवेष्ठित देश अष्ट्रियाको राजधानी भियनासम्म देखिएपछि मन्त्रालय छानबिनमा जुटेको हो ।

नेपालबाट नयाँ राजदूतका रुपमा भरत रेग्मी प्रस्तावित भएर नियुक्त नहुँदैको मौका छोपी त्यहाँ ३ वर्षदेखि कार्यरत सेकेण्ड सेक्रेटरी (शाखा अधिकृत) धनञ्जय मेहताले यस्तो बद्मासी गरेका हुन् ।

राजदूतको अनुपस्थितिमा उक्त मिशन हेर्ने उपसचिव डा.इला मैनाली थिइन् । लोकसेवाका पूर्वअध्यक्ष उमेश मैनालीकी छोरी इलालाई पनि छलेर उनीभन्दा मुनिका शाखा अधिकृत मेहताले देशकै इज्जतमा धक्का पुग्ने काम गरेको बुझिएको जनआस्थाले उल्लेख गरेको छ ।

क्रोएसिया, अल्बानिया र पोल्याण्डसँग नेपाल सरकारले गरेको श्रम सम्झौतापछि एक म्यानपावर व्यवसायीसँग मोबाइलबाट काठमाडौंमा कुरा गर्दै आर्थिक लाभ मागेको अडियोलाई प्रमाणस्वरुप पेश गरिएसँगै मेहता छानबिनमा परेको बताइन्छ ।

श्रम सम्झौताबमोजिम श्रमिकको करिब पाँच सयवटा मागपत्र प्रमाणित गरेबापत मेहताले व्यवसायी टंक राउतसँग डिमाण्ड गरेको अडियो श्रम हुँदै परराष्ट्र पुगेको थियो । त्यसमा ‘२०’ भन्ने शव्द प्रष्ट सुनिन्छ, तर हजार, लाख र करोडमध्ये कुन भन्ने खुलेको छैन । अनुमान छ, उनले २० लाख मागेका हुन् । रकम पाएका छैनन् । त्यसले उनलाई सुख त किन दिन्थ्यो, बरु त्यो पीडा प्राणघातक ‘विष’ झैँ बनिदियो ।

राउतसम्बद्ध म्यानपावर कम्पनीले श्रम सम्झौताबमोजिम तीन देशमा असारको पहिलो साता पाँच सय नेपाली कामदार लैजाने तयारी गरेको थियो । करिव साढे दुई मीनेटको अडियोमा सेकेण्ड सेक्रेटरी मेहता र व्यवसायी राउतको मात्रै स्वर सुनिन्छ ।

यसको छानबिन गर्न मन्त्रालयले सहसचिव सेवा लम्साल, उपसचिव पुष्करराज नेपाल (कानुन) र शाखा अधिकृत दधि भण्डारी (प्रशासन) को तीन सदस्यीय समिति गठन गरेको छ । मेहता हाल कार्यालयको सबै जिम्मेवारीबाट हटाइएका छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत