दसैँमा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित दुई राजमार्गमा आजदेखि टिपर सञ्चालन निषेध गरेको छ । कार्यालयले अरनिको र विपी राजमार्गमा टिपर सञ्चालन निषेध गर्दै अन्य सवारीसाधनका लागि टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो ।
यातायात सेवा समितिका पदाधिकारीसँगको छलफलमा दुई राजमार्गमा आजदेखि असोज २४ गतेसम्म टिपर सञ्चालन गर्न नपाउने तथा सार्वजनिक सवारी साधनका लागि टाइम कार्ड लागू गरी सञ्चालन गर्नुपर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । उनका अनुसार केन्द्रीय राजधानी काठमाडौँबाट दसैँ मनाउन काभ्रेपलाञ्चोकको रुट भएर मध्यपूर्व हुँदै पूर्वी जिल्ला जाने आउने यात्रुहरूको चापलाई व्यवस्थापन गर्न उक्त निर्णय गरिएको हो ।
अरनिको राजमार्गभन्दा विपी राजमार्गमा फूलपाती, अष्टमी र नवमीका दिन धेरै सवारीको चाप हुने गरेको छ । यसपालि दुवै राजमार्गमा सवारी चाप बढ्ने सम्भावनालाई मध्यनजर गर्दै प्रशासन र यातायात व्यवसायीले सहज रूपमा यात्रुलाई आउनेजाने वातावरण मिलाउन तथा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले बिहीबार छलफल गरेका हुन् ।