आइतवार, चैत्र २२, २०८२

एमालेले चोर्यो मोदीको चुनावी नारा


कान्तिपथ


राजा फर्काउने अभियानमा रहेका पूर्वपञ्चहरुको पार्टी राप्रपाबाट हामफालेर केही वर्ष अघिमात्रै एमालेमा प्रवेश गरी राष्ट्रियसभा सांसद बन्न सफल पूर्व रेडियोकर्मी तथा गायिका कोमल वली मङ्सिर ४ को निर्वाचनका लागि दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभातर्फ उम्मेदवार छिन् ।

वामपन्थी आन्दोलनमा लागेर कपाल फुलाएका दर्जनौँ पुराना नेतालाई जिल्याउँदै राष्ट्रियसभामा पुगेकी उनलाई एमालेले यसपटक प्रत्यक्ष निर्वाचनमा भिडाउन लागेको हो । असोज २३ गते दलबलसहित उम्मेदवारी मनोनयन गराएकी वली यतिबेला भोट माग्न व्यस्त छिन् ।

जनआस्थाका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई खुशी तुल्याएवापत राजनीतिमा एकपछि अर्को सफलताको स्वाद चाखिरहेकी वली आफूलाई ‘स्मार्ट’ राजनीतिकर्मी ठान्छिन् । राष्ट्रियसभाका बैठकहरुमा आइप्याड हातमा लिएर समाचार वाचनकै शैलीमा भाषण गर्थिन् ।

उनै वलीले चुनाव प्रचार प्रसारमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा नारा नक्कल गरेको पाइएको छ । भारतीय लोकसभा चुनावका दौरान मोदीले अघि सारेको नारालाई जस्ताको त्यस्तै नेपालीमा अनुवाद गरेर वलीले प्रचारमा ल्याएपछि उनको आलोचना पनि भएको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भाइरल बनाएको उक्त ब्यानरमा वलीसहित एमालेका दाङ-३ प्रदेशसभातर्फका दुवै उम्मेदवारको फोटो छ । फोटोसँगै लेखिएको छ, ‘जनता भन्छन्- अति नै भयो महंगीको मार, चाहिने नै भयो एमालेको सरकार’ ! आकर्षक देखिने त्यो ब्यानरको एउटा कुनामा एमालेको सूर्य चिन्ह राखिएको छ भने त्यसैको पुछारमा मङ्सिर ४ गते सूर्यलाई भोट हाल्ने दिन लेखिएको छ ।

तर,यही नारा भारतका प्रधानमन्त्री मोदीले पहिले नै ल्याएका थिए । मोदीको ब्यानरमा उनको फोटोसहित ‘बहुत हुइ देशमें महंगाइकी मार, अबकी बार मोदी सरकार !’ लेखिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत