वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सबै होटल, रेष्टुरेण्ट तथा बार व्यवसायीले आ–आफ्नो मेन्युमा वस्तु तथा सेवाको मूल्य उल्लेख गर्दा नियमानुसार उपभोक्ताले तिर्नुपर्ने सबै किसिमका सेवा शुल्क तथा कर रकम सहितको अन्तिम उपभोक्ता मूल्य उल्लेख गर्न निर्देशन दिएको छ ।
उल्लेख गरिएको मूल्यमा कुनै किसिमको अतिरिक्त रकम नलिन र सो गरेको पाइएमा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम कारवाही हुने चेतावानीसमेत दिएको छ ।
बिहीबार विभागका तर्फबाट निर्देशक होमनाथ भट्टराईले एक विज्ञप्ति जारी गर्दै होटल, रेष्टुरेण्ट तथा बार व्यवसायीलाई मेन्युमा राखेको मूल्य नै अन्तिम मूल्य भएको स्मरण गराउँदै सोही बराबरको रकम लिन निर्देशन दिएका हुन् ।
निर्देशक भट्टराईका अनुसार बुधबार मात्रै होटल, रेष्टुरेण्ट तथा बार व्यवसायीलाई विभागमै बोलाएर छलफलसमेत गरिएको थियो । व्यवसायीका छाता संगठनका प्रतिनिधिलाई बोलाएर गरिएको छलफलपछि व्यवसायीले पनि आफ्नो मेन्युमा सुधार गर्ने र मेन्युमा उल्लेख भएको रकम मात्रै लिने प्रतिवद्धता जनाएको निर्देशक भट्टराईले बताए ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ