कोटेश्वरको महादेव स्थानमा मेलम्चीको खानेपानी पाइपलाइनमा नआएको भन्दै स्थानीयहरूले मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयमा ज्ञापनपत्र बुझाएका छन् । सोमबार कोटेश्वर महादेव स्थानका स्थानीयहरू अन्य क्षेत्रमा मेलम्चीको नयाँ लाइनमार्फत आएको पानी बढी भएर खेर जाँदा समेत कोटेश्वर महादेवस्थान क्षेत्रमा पाइपलाइनबाट हाइटमा नचढ्दा घर–घरमा पानी नपुगेको भन्दै मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयमा ज्ञापनपत्र बुझाएका हुन् ।
मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का प्रोजेक्ट डाइरेक्टर राजेन्द्र सापकोटाले कोटेश्वर हाइट क्षेत्रमा जोडिएको सिस्टमले हाइटमा पानी नपुग्ने भएकाले नयाँ पाइपलाइन बनाएको बताए । उनले पुरानो लाइनमा नयाँ पाइपबाट पानी पठाए पनि हाइटमा र टाढा भएको घरमा पानी पुग्न नसक्ने बताए । उनले हाइडोलिङ बिग्रिने भएकाले तत्काल पाइपमा पानी पठाउन नसकिएको भन्दै पानी दिन समस्या नभएको बताए । समस्या समाधानका लागि अध्ययन गरेर माग सम्बोधन गर्ने बताए ।