शुक्रबार, चैत्र २७, २०८२

विदेशको कमाइले स्वदेशमा उद्यमी


कान्तिपथ


बेलबारी(मोरङ) । मोरङ बेलबारी नगरपालिका–९ डाँगिहाटका किसान विवेक बोगटी बिहान ३ बजेदेखि च्याउ टिप्न व्यस्त भेटिनुहुन्छ । विदेशमा मजदुरी छोडेर स्वदेशमै उद्यमी बन्ने चाहनाले विगत पाँच वर्षयता उहाँ च्याउ उत्पादनमा लाग्नुभएको छ । 

विदेशको जागिर छाडेर स्वदेशमै पसिना बगाउने उद्देश्यले सुरु भएको यो व्यवसायबाट उहाँले यस वर्ष मात्रै करिब रू ५० लाख आम्दानीको लक्ष्य लिनुभएको छ । 

तीन वर्ष मलेसिया बस्दा कमाएको करिब रू एक लाख ५० हजार लगानी गरी उहाँले मेहनती मसरुम कृषि फर्म सुरु गर्नुभएको थियो । हाल कम्पनीमा रू एक करोडभन्दा बढी लगानी भइसकेको उहाँको भनाइ छ । 

तीन कठ्ठा क्षेत्रफलमा तीन वटा प्लाष्टिकका टनेलमार्फत सुरु गरिएको च्याउ खेती हाल हाल चार वटा पक्की घर बनिसकेका छन् भने थप तीन वटा बन्ने क्रममा छन् । च्याउ उत्पादन हुने पक्की घर ५० फिट लम्बाई र २२ फिट चौडाइका छन् । एउटा घरमा एक हजार दुई सय ६५ वटा च्याउका पोका रहने र ती पोकामा राम्रो भएमा दुई महिनासम्म निरन्तर उत्पादन हुने बोगटीको भनाइ छ । 

वार्षिक तीन लट उत्पादन हुने र प्रत्येक लटमा करिब १० देखि १५ लाखसम्म आम्दानी हुने बोगटीको दाबी  छ । गर्मीभन्दा भन्दा जाडो मौसममा उत्पादन राम्रो हुने भन्दै उहाँले हाल दैनिक नौ सय किलोसम्म उत्पादन भएको जानकारी दिनुभयो । 

उत्पादित च्याउ बिक्रीमा कुनै समस्या नभएको उहाँको भनाइ छ । हाल थोकमा रू एक सय ५० का दरले च्याउ बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो । उत्पादन गरिएको च्याउ हरेक बिहान ४ बजेसम्म इटहरी पुर्‍याई सक्नुपर्ने र ७ बजे सम्ममा विराटनगर र धरानसम्म पुर्‍याई सक्नुपर्ने हुन्छ । 

दैनिक रुपमा अटो रिक्साबाट पनि स्थानीय क्षेत्रमा पुर्‍याउन समस्या हुन थालेपछि अब आफै पिकअप भ्यान खरिद गर्ने योजना बनाउनुभएको छ । उहाँले हाल फर्ममा स्थानीय पाँच जनालाई दैनिक ज्यालादारीमा रोजगारी दिइरहनुभएको छ भने आगामी दिनमा थप रोजगारी सिर्जना गर्ने योजना बनाउनुभएको छ । 

सुन्दरहरैचाको गछियास्थित बहिनी ज्वाइँ विजय सापकोटाले सञ्चालन गरेको च्याउ उद्योगबाट प्रभावित भएर सोही पेसा रोजेको बोगटीको भनाइ छ । सापकोटाले १० वटा घर निर्माण गरी च्याउ उत्पादन गरिरहनुभएको थियो तर दुई वर्ष अघि उहाँको फर्म आगलागीबाट जलेर नष्ट भएको थियो । हाल उहाँ काठमाडौँस्थित च्याउको बिउ उत्पादन गर्ने ल्याब सञ्चालन गरिरहनुभएको छ । 

विवेक बोगटीले पनि सोही ल्याबबाट कन्ये जातको च्याउको बिउ लिइरहनुभएको छ । दुई  वर्षअघि डल्ले च्याउ उत्पादन टनेल निर्माण गर्न भनेर प्रदेश १ सरकारले २० लाख अनुदान दिएको उहाँले सुनाउनुभयो । डल्ले च्याउ राम्रो उत्पादन नभएपछि अहिले लगाउन छोडेको उहाँ बताउनुहुन्छ । 

“वैदेशिक रोजगारी छाडेर उद्यमी बन्न चाहने युवालाई बैङ्कहरूले सरल कर्जा दिन्छ भन्ने सुनेर बिराटचोकस्थित कृषि विकास बैङ्कमा पटक–पटक जाँदा पनि बैंकले कुनै वास्ता गरेन, त्यसपछि जानै छाडे”, उहाँले गुनासो गर्नुभयो । रासस



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत