नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहंकार बोक्ने व्यक्तिको विनास हुने बताएका छन् । पार्टी कन्द्रीय कार्यालय च्यासलमा आयोजित खेलकुद महासंघको नवनिर्वाचित कमिटीको शपथग्रहणपछि सम्बोधन गर्दै उनले अहंकार दिमागमा पस्यो भने त्यसले अन्य कुरालाई रोक्ने बताए ।
‘अंहकार बोक्यो भने कुनै पनि व्यक्ति कतै पनि सफल हुँदैन । त्यो मानिसको विनास हुन्छ जसले अहंकार बोक्छ, अहंकारले दिमागमा अन्य कुरा पस्नै दिँदैन । आफू बस्छ ढोका लगाएर चुकुल लगाउँछ । केही चिज पस्दै दिँदैन आफू मात्रै बस्छ । अंहकार यस्तो गरी बढ्दै जान्छ कि त्यसले कोठा नै फुटाउला जस्तो गर्छ,’ उनले भने ‘त्यसैले मस्तिष्कमा अहंकार पस्न दिनु हुँदैन । खेलाडीले अहंकारलाई जे जे हानेर हुन्छ भगाइहाल्नु पर्छ । अहंकारलाई फ्लाइङ किक हाने वा राउन्ड किक हानेर बजाइदिनुहोस् । बक्सिङ, कराँते, जुडो के हुन्छ अहंकारलाई बजाइदिहाल्नु । अहंकारले मितेरी लगायो भने त्यसले खत्तम पार्छ । त्यसैले अहंकारसँग जम्काभेट हुनु हुँदैन, भयो भने दिइहाल्नु पर्छ दनक ।’
अहंकारलाई हटाएपछि मात्रै प्रगति हुने भन्दै उनले सुझाव दिएका थिए । ‘म ज्ञानी हुँ, म पण्डित छु, म यहाँ छु म त्यहाँ छु, मजस्तो जान्ने को छ भन्यो भने त्यसले गरिखाँदैन । म विद्वान छु भनेर ठान्दछ भने त्यसले सक्दैन । म जान्दछु म जस्तो कोही छैन भन्यो भने बिग्रन्छ,’ ओलीले भने ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ