७ वैशाखमा कपन सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्य (निरु) को सिक्री लुट्न खोज्दा प्रतिकार गरेपछि हत्या गरिदिएको घटनामा संलग्न विनोद विश्वकर्माले प्रहरीलाई प्रारम्भिक बयान दिएका छन्।
बाउन्सरसमेत रहेका विनोदले सिक्री लुट्ने मनसायले दिउँसोको समयमै १९ पटक निरुमाथि छुरा प्रहार गरी हत्या गरेको बताएका हुन्। विनोदलाई प्रहरीले झापाबाट पक्राउ गरी काठमाडौं ल्याउने तयारी भइरहेको र घटनाबारे पत्रकार सम्मेलन गरी जानकारी दिइने बताएको छ।
अनुसन्धानमा संलग्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अधिकारीका अनुसार झापाबाट शनिबार पक्राउ परेका विनोदलाई काठमाडौं ल्याएपछि निरु हत्याकाण्डबारे थप विवरण सार्वजनिक गरिनेछ। साता दिन बित्सासमेत हत्यारा पत्ता लगाउन नसकेको भन्दै नागरिक स्तरबाट सरकारको आलोचना भएपछि प्रहरीले दुई दिनअघि मात्रै घटना अनुसन्धानका लागि सीआईबी प्रमुख किरण वज्राचार्यको नेतृत्वमा समिति गठन गरेको थियो।
प्रहरीका अनुसार इनड्राइभमार्फत घटनास्थल नजिकै पुगेका विनोदले निरुको सिक्री लुट्न खोज्दा प्रतिकार गरेपछि ८ मिनेटको बीचमै हत्या गरेको खुलेको छ।
दिउँसो २ बजेर ४६ मिनेट जाँदा घटनास्थल पुगेका विनोद ५४ मिनेट जाँदा निरुमाथि कयौं चक्कु प्रहार गरी सिक्री लुटेर बाहिरिएका थिए। उनले अनुहारमा मास्क लगाएकाले प्रहरीले सीसीक्यामेरा फुटेजबाट घटनाबारे जानकारी बटुल्न सकेको थिएन।
विनोदले सुरुमा निरुको पसल पुगेपछि सामान किन्ने बहाना बनाएर सिक्री लुट्न खोज्दा प्रतिकार गरेपछि चक्कु प्रहार गरेको देखिएको घटना अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको अनुमान छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ