बुधबार, चैत्र २५, २०८२

ओलीका पीएको १ करोड छानबिन गर्न रास्वपाको माग : ढाकाको ३ करोडबारे बेखबर ?


कान्तिपथ


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शरणार्थी प्रकरणमा संसदीय विशेष समिति बनाएर छानबिन हुनुपर्ने माग गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा नक्कली शरणार्थी प्रकरणको प्रतिवेदन अपूर्ण भएकाले निष्पक्ष छानबिन गर्न संसदीय विशेष समिति बनाउनुपर्ने माग उनले गरेका हुन्।

उनले अहिले आरोप लाग्न बाँकी कुनै राजनीतिक दल बाँकी नरहेकाले कसैलाई विश्वास गर्ने वातावरण नभएको बताए। सरकार नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएकालाई सोधपुछ गर्न डराएको उनको दाबी छ।

‘जुन–जुन निकाय यसमा लागिपरेका छन्, कसैको पनि विश्वास गर्ने वातावरण छैन। ज–जसको नाम आएको छ, तिनलाई छानबिनको दायरामा पनि ल्याउन नसक्ने गरी सोधपुछ भइरहेको छ,’ उनले भने।

सर्वसाधारणको हकमा बयान लिन आउँछु भन्दाभन्दै समातिने तर राजनीतिक उच्चपदस्थलाई आरोप लाग्दा सोधपुछसमेत नगरिनु आपत्तिजनक रहेको उनले बताए।

रविले भने, ‘गृहमन्त्रीले मुटु दरो छ, प्रधानमन्त्रीले मुटु दरो छ भन्नुभएको थियो। दुइटैको मुटु कहाँ गएर चेक गर्ने? सर्वसाधारणलाई बलजफ्ती समाउने मध्येमा म आफैं न्यूजरुमबाट समातिएको हुँ। डामिएका ठूला राजनीतिक दलका नेतालाई एकपटक सोधपुछका लागि नबोलाइनुभित्र रहस्य छ।’

यता स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठले आफु सांसद बन्नका लागि ३ करोड बुझाएको भन्ने बारे उक्त पार्टी केहि बोलेको छैन । श्रेष्ठले आफूलाई समानुपातिक सांसद बनाउँदा पार्टीका उपसभापति डीपी अर्याल र महामन्त्री मुकुल ढकालले तीन करोड लिएको दावी गरेका छन् ।

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड ५० लाख रुपैयाँ मागेको टेलिफोन संवाद बाहिरिएपछि चर्चामा आएका ढाकाकुमारले सभापति रवि लामिछानेनिकट अर्याल र ढकाललाई पार्टी कार्यालय र रेस्टुरेन्टमै पुगेर पैसा दिएको दाबी गरेको जनआस्थाले उल्लेख गरेको छ।

‘रविजीको कोर टीममा रहेका खास–खास व्यक्तिहरूले तपाईंलाई सांसद बनाइदिन्छम्,तीन करोड पैसा दिनुहोस् भनेपछि नाइँ भन्ने कुरै भएन,’उनले भने, ‘मैले शुरुमा मुकुलजीलाई एक करोड दिएँ । उहाँ पार्टी कार्यालय छेउको रेस्टुरेन्टमा हुनुहुन्थ्यो । पछि कार्यालयमै गएर डीपीजी र मुकुलजीलाई एक करोड ८४ लाख दिएँ ।’

आमनिर्वाचनको प्रचारप्रसारका क्रममा आफूले व्यक्तिगत रुपमा १० देखि १५ लाखसम्म खर्चिएको ढाकाकुमारले जनाएका छन् । समानुपातिक सांसद बन्नका लागि उपसभापति र महामन्त्रीलाई दुई करोड ८४ लाख नगद बुझाए पनि पार्टी काममा खटिँदा लाखौँ खर्च गर्न बाध्य पारेको उनको गुनासो छ।

‘मसँग धेरै पैसा न थिएन, सांसद बन्ने नाउँमा तीन करोडभन्दा बढी सकेँ,’ ढाकाकुमारले भने, ‘तर अहिले उनै साथीहरूले घात गरे । ममाथि अन्याय भएको छ । पार्टीले मलाईं मात्र दोषी बनायो । मैले पार्टीको लागि पैसा सक्काएको छु । सांसद बनाइदिन्छम् भन्दा उल्टै नेतालाई पैसा बुझाएको छु । तर कसैबाट एक–रुपैयाँ मागिनँ,’ उनले भने ।

रास्वपाबाट निश्कासित भएपछि सांसद पद गुमाएका उनी यतिबेला न्याय माग्दै सर्वोच्च अदालत गएका छन् । अदालतमा विचाराधीन मुद्दाका सन्दर्भमा धेरै बहस नगर्ने बताइरहेका ढाकाकुमार आफूले अदालतबाट न्याय पाइछाड्ने दाबी गर्छन् । ‘मेरो कुनै गल्ती छैन । न्याय पाउँछु,’ उनले भने।

ढाकाकुमारको बोली जस्ताको त्यस्तै—

‘भर्खरै पार्टीमा जोडिएको थिएँ,मेरो कसैसँग चिनजान पनि थिएन । सांसद हुनुअघि रविजीसँग पार्टी कार्यालयमा दुईपटक भेटघाट भएको हो । उहाँले मलाई महामन्त्रीसँग समन्वय गर्नुहोस् भन्नुभयो, त्यसपछि मैले मुकुलजीसँग सम्पर्क गरेँ। पार्टीले समानुपातिक सूची तयार पार्दै थियो । उपसभापति डीपीजीले मलाई एकदिन राति फोन गरेर मेरो राजनीतिक पृष्ठभूमि,आर्थिक अवस्था,अध्ययन र पार्टीको गतिविधि कस्तो भइरहेको छ भनेर सोध्नुभयो ? मैले सबै बताएँ,अनि कुराकानी सकियो ।

अर्को दिन दिउँसोतिर महामन्त्रीजीको फोन आयो,उहाँले तपाईंको नाम सांसद हुने सूचीमा राखेका छौँ भन्नुभयो। त्यहाँ चाहिँ आन्तरिक भोटिङको नाटक पनि मन्चन गरिएको थियो ! म पहिलो नम्बरमा भएको बताउनुभयो । मैले पनि सहमति जनाएँ । मुकुलजीले पार्टीलाई आर्थिक सहयोग चाहिन्छ भन्नुभयो,मैले हुन्छ भनेँ । ऋण काढेर जम्मा गरेको पैसा,काठमाण्डौँ आएको बेला रेस्टुरेन्ट र पार्टी कार्यालयमै गएर दिएँ । अनि समानुपातिक सांसद भएँ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत