बुधबार, फाल्गुन ६, २०८२

पहिचानवादीहरु सबै प्रचण्डका मान्छे हुन् : ओली


कान्तिपथ


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले कोशी प्रदेशमा पहिचानवादीहरूलाई प्रोत्साहित गरी एमालेमाथि आक्रमण गराइरहेको आरोप लगाएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरी एमालेमा समाहित भएका मुकुन्द न्यौपानेसहितका नेता, कार्यकर्तालाई स्वागत गर्दै उनले पहिचानवादीका नाममा एमालेमाथि देशभर नै हमला गरिरहेको बताए ।

उनले कोशी प्रदेशमा सत्ता संरक्षित अपराधिक घटनाहरू भइरहेको दाबी गरे । उनले पहिचानवादीका नाममा सत्तापक्ष नै मुठभेड गराउन लागिपरेको भन्दै अब नेकपा एमाले प्रतिवादमा उत्रिने बताए । उनले एमालेले पहिचानका नाममा भइरहेका अपराधिक क्रियाकलापको सामना गर्न नडराउने पनि उल्लेख गरे ।

उनले भने, ‘अहिले पहिचानवादीका नाममा विभिन्न ठाउँमा हमला भइरहेको छ । सरकार केही गर्दैन । प्रहरीलाई टाउको फुटे पनि केही नगर्नु भनेको छ । पहिचानका नाममा एउटै मानिसहरू बाइक लिएर पुग्ने गरेका छन् हरेक ठाउँमा । कार्यक्रम गर्न नपाउने, केपी ओली निषेध, एमाले निषेध के के निषेध, अहिले प्रदेश नम्बर १ मा सत्ता संरक्षित, आपराधिक घटनाहरू भइरहेका छन्, आफैँले आफ्नै मान्छे मारे सुरुमै । हामीमाथि हमला भयो, कहिले बन्द भनेकोे छ, कहिले तोडफोड, कहिले अनेक छ । आज मात्रै केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य राम रानालाई मोबिल छर्किएर आगो लगाउन खोजियो, भनेपछि कहाँसम्मको हत्या प्रयास भइरहेको छ पहिचानका नाममा ।’

अध्यक्ष ओलीले नेपाललाई जातिजातिका नाममा दंगाफसाद गराउने षड्यन्त्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशभर पहिचानको विष फैलाउने कोसिस गरे पनि सफल नबनेको बताए । पहिचानवादको संरक्षक पुष्पकमलवादीहरू भएको भन्दै प्रचण्डपथ देशद्रोही र अपराधी पथ भएको जिकिर गरे ।

ओलीले प्रदेशको नाममा पहिला सहमति गर्ने र पछाडि भड्काउने काम प्रचण्डबाट भएको दाबी गरे । उनले भने, ‘नाम राख्ने, अलि पछि गल्ती भयो भन्ने पुनःविचार गर्नुपर्छ भन्ने र त्यता मान्छे भड्काउने । प्रचण्ड भनेको एक छिनमा पहिचानवादी, एक छिनमा राष्ट्रियतावादी हो । एकछिनमा फाटोवादी, एकछिनमा तमासा । अब नेकपा एमालेले तयारीका साथ दनक दिनुपर्ने बेला आएको छ । सरकारले यो गराइरहेको छ भने एमाले चुप लागेर बस्न सक्दैन ।’

उनले आफ्ना कार्यकर्ताको रक्षा आफैँले गर्नुपर्ने बताए । उनले भने, ‘सरकारले न गुण्डाहरू न नियन्त्रण गर्छ, न समात्छ, प्रोत्साहित गरेको छ प्रचण्ड सरकारले । अब जवाफ दिनुपर्ने बेला आइसकेको छ । पहिचानवादको संरक्षक यो पुष्पकमलवादीहरू प्रचण्डपथ हो ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत