वीरगञ्ज । बाराको जितपुरमा झण्डै २ अर्बको लागतमा सञ्चालित नेपाल सेरामिक इन्डष्ट्रिज प्रा.ली.ले आज बाराको सिमरामा नेपाली कच्चा पदार्थबाट टायल्स निर्माण गर्न सकिने भएपछि ‘आफ्नै माटो–आफ्नै शान’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल सेरामिक इन्डष्ट्रिज प्रा.ली.ले नेपोभिट टाइल्स उत्पादन गर्दै आएको र सो टाइल्सको कच्चा पदार्थको रुपमा नेपाली माटोको प्रयोग भइरहेको सन्देश प्रवाहका लागि अन्तरक्रिया आयोजना गरिएको कम्पनीका अध्यक्ष शम्भुनाथ झाले जानकारी दिनुभयो ।
स्वदेशकै कच्चा पदार्थको पहिचान गरी देशवासीलाई उचित मूल्यमा विश्वस्तरीय टाइल्स उपलब्ध गराउने उद्देश्य कम्पनीको रहेको झाले बताउनुभयो ।

उहाँले नेपालको माटोबाट बनेका टाइल्सलाई विश्वमा बिकाउने र आयआर्जनको बाटो खोल्ने उद्देश्य रहेको पनि बताउनुभयो ।
अन्तरक्रियामा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य डा. सुबोध कुमार गुप्ता, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटी लगायत सुरक्षा निकायका प्रमुख एवम् उद्योगी, व्यवसायी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

स्थापनाको पहिलो वर्षमै नेपोभिट टाइल्सले एक सय भन्दा धेरै स्थानीयलाई प्रत्यक्ष रोजगार प्रदान गर्नुका साथै देशभर ५ सय भन्दा बढीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गरेको कम्पनीका प्रबन्ध निर्देशक मनोज प्रसाद रौनियारले बताउनुभयो ।
देशभर नै सम्भाव्यता अध्ययन गरी कच्चा पदार्थको पहिचान गरेको पनि रौनियारले दाबी गर्नुभयो । वातावरण संरक्षणलाई मध्यनजर गर्दै आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत नेपोभिट टाइल्सले वृक्षारोपण कार्यक्रम पनि गर्दै आएको रौनियारले बताउनुभयो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ