बिहिबार, चैत्र ६, २०८१

तानसेन नगरपालिकाले प्राधिकरणलाई तिरेन आठ करोड महसुल


कान्तिपथ


पाल्पा, कात्तिक १६ गते । तानसेन नगरपालिकाले दुई दशकदेखि विद्युत् महसुल तिरेको छैन । नगरका विभिन्न स्थानमा सडक बत्ती बालेबापत नगरपालिकाले विद्युत् प्राधिकरणलाई आठ करोड बढी रकम नतिरेको हो । 

२०६१/६२ सालदेखि नै तानसेन नगरपालिकाले विद्युत् प्राधिकरणलाई सडक बत्तीको महसुल तिर्न बाँकी रहेको पाल्पा वितरण केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख दिलीप मरासिनीका अनुसार तानसेनले हालसम्म आठ करोड ५१ लाख रुपियाँ विद्युत् महसुलबापतको रकम तिर्न बाँकी रहेको छ । झन्डै दुई दशकदेखि नगरपालिकाले विद्युत् महसुल बुझाएको नपाइएकाले पत्र काटेर तोकिएको समयभित्र महसुल बुझाउन ताकिता गरिए पनि पालिकाले अटेर गर्दै आएको छ ।

पाल्पा जिल्लामा संस्थागत रूपमा लामो समयदेखि महसुल नतिर्नेमा नगरपालिकाको नाम आउने गरेको प्राधिकरण पाल्पा वितरण केन्द्रले जनाएको छ । पाल्पा जिल्लामा तानसेन नगरपालिका र अन्य क्षेत्रका उपभोक्ताको गरी ११ करोड बढी विद्युत् महसुल उठ्न बाँकी रहेको छ । व्यक्तिगत र व्यावसायिक क्षेत्रका केही व्यक्तिले पनि विद्युत् महसुल नतिरेका कारण ११ करोड बक्यौता देखिएको वितरण केन्द्रका सूचना अधिकारी भागीरथ बस्यालले बताउनुभयो । विद्युत् महसुल समयमै नतिर्ने ग्राहकको लाइन काट्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । सार्वजनिक क्षेत्रमा प्रयोग भइरहेको विद्युत्को भने प्राधिकरणसँग छलफल गरेर थप निर्णय लिइने बस्यालले बताउनुभयो । 

तानसेन नगरपालिकाले हाल १४ वटै वडामा उपभोक्ताको माग अनुसार सडक बत्ती जडान गरेको छ । रात्रिको समयमा हुन सक्ने आपराधिक क्रियाकलापको नियन्त्रण र सुरक्षाका लागि नगरका सबै वडामा गरेर एक हजार बढी सडक बत्ती जडान गरिएको नगरपालिकाले जनाएको छ । 

प्राधिकरणले विद्युत् महसुल तिर्न ताकिता गरे पनि नगरपालिकाले विद्युत् महसुल तिर्न नसक्ने जनाएको छ । नगरपालिकाको आफ्नो आन्तरिक स्रोतसमेत नभएकाले साढे आठ करोड रुपियाँ विद्युत् महसुल तिर्न नसक्ने र यो समस्यालाई नीतिगत रूपमा समाधान गर्नुपर्ने नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले बताउनुभयो । जनताको सुरक्षालाई ध्यानमा राखेर सडक बत्तीको व्यवस्था गरिएकाले यससम्बन्धी छुट्टै व्यवस्था गरेर निर्णय गर्नुपर्ने उहाँको भनाइ छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत