यसपालिको तिहारमा काठमाडौंमा २४ सै घण्टा देउसीभैलो खेल्न पाइने भएको छ । रातैभर सौहार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्न पाइने प्रहरीले जनाएको हो ।
यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले राति १ बजेसम्म देउसीभैलो खेल्न सुरक्षा व्यवस्था गरिएको बताएका थिए । तर, प्रहरीले भने चाहनेहरूका लागि चौबिसै घण्टा खुला रहेको बताएको हो ।
सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले देउसीभैलो खेली तिहार मनाउन काठमाडाै प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले आग्रह गरेका छन् ।
कसैले समय तोकेर देउसीभैलो खेल्न अवरोध गरे प्रहरीलाई खबर गर्न आग्रह गरे । ‘देउसीभैलो खेल्नका लागि कुनै सीमित समय तोकेका छैनौँ । प्रहरी र सुरक्षा समितिले काठमाडौंमा २४ सै घण्टा सौहार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्न खुला छ । प्रहरी २४ सै घण्टा सुरक्षा दिन तयार छ । तर उश्रृङ्खल क्रियाकलाप नगरी सौहार्दपूर्ण रूपमा खेल्न आवश्यक छ ’ उनले भने ।
सुरक्षा प्रबन्ध गर्ने प्रहरीको मात्रै जिम्मेवारी नभएर आमनागरिकको पनि भएको बताउँदै प्रहरी नागरिकको सुरक्षाका लागि निरन्तर खटिरहेको बताए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ