बिहिबार, बैशाख १०, २०८३

सिग्देल प्रधानसेनापतिको लाईनमा : पुस ३ पछि अर्को रथी को ?


कान्तिपथ


नेपाली सेनाका उपरथी अशोकराज सिग्देल रथीमा बढुवाका लागि सिफारिस भएका छन्। सैनिक मुख्यालय भद्रकालीमा शुक्रबार बसेको बढुवा समितिको बैठकले रथीमा बढुवाका लागि सिफारिस गर्दै ७ दिने सूचना जारी गरेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

यसअघि सिफारिस भएका ताराध्वज पाण्डेको राजीनामा मन्त्रिपरिषद् बैठकले बिहीबार स्वीकृत गरेपछि सिग्देललाई उक्त स्थानमा बढुवा गर्ने प्रक्रिया सुरु भएको हो।

सिग्देलविरुद्ध कुनै उजुरी भएमा ७ दिनभित्र दिन सूचनामा भनिएको छ । यस अवधिमा उजुरी परेर सिफारिस बदर नभए सिग्देल १० महिनापछि प्रधानसेनापतिसमेत बन्न सक्नेछन्।

नेपाली सेनामा गत कात्तिक ११ गतेदेखि रथी पद रिक्त छ। तत्कालीन बलाधिकृत रथी सरोजप्रताप राणा अवकास भएपछि त्यसमा पदपूर्ति हुन सकेको छैन।

आगामी पुस ३ गतेबाट अर्को रथी पद पनि खाली हुँदै छ। हालका एक मात्र रथी सीताराम खड्का उमेर हदका कारण अनिवार्य अवकासमा जाँदै छन्। त्यसको १५ दिनअघि अनिवार्य विदामा बस्नुपर्छ।

त्यसैले यही मंसिर १८ गतेभित्र पदपूर्ति हुन नसके दुवै रथी पद खाली हुने सम्भावना छ। नेपाली सेनामा दुई जना रथी हुन्छन्। रथी बढुवाको लाइनमा यसपछि उपरथीहरू निर्मल थापा र सन्तोष ढकाल छन् । थापाको शैक्षिक योग्यतामा समेत प्रश्न उठेकाले रथी खड्काले पुस ३ पछि अवकाश पाउने ठाउँमा कसको बढुवा हुने भन्ने टुंगो लाग्न बाँकी नै छ ।

यसअघि राणा पनि अवकास पाउनुभन्दा १५ दिनअघि अर्थात् असोज २८ बाट नै बिदामा बसेपछि ताराध्वज पाण्डेलाई रथीमा बढुवाका लागि सिफारिस गरिएको थियो।

पाण्डे उमेर विवादमा परेर छानबिन सुरु भएपछि उनले राजीनामा दिएका थिए। कात्तिक २३ गते दिएको उनको राजीनामा सरकारले बिहीबार स्वीकृत गरेको हो।

पाण्डेको राजीनामा स्वीकृत भएको भोलिपल्टै सिग्देललाई सिफारिस गरिएको हो। हालका प्रधानसेनापति प्रभुराम शर्मा २०८१ भदौ २४ गते कार्यकाल पूरा गरेर अवकास हुनेछन्। त्यसपछिको नेतृत्वमा अब रथीमा बढुवा सिफारिस भएका सिग्देल पुग्ने करिब निश्चित हुनेछ। सेनामा वरिष्ठ रथीले नै नेतृत्व पाउने गरेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत