शनिबार, चैत्र ९, २०८१

मलेसियामा बेपत्ता भएका गोपाल १८ वर्षपछि घर पुगे


कान्तिपथ


वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुगेका छन्।

१८ वर्ष अगाडि मलेसिया गएका घिमिरेलाई मलेसियाको नेपाली जनसम्पर्क समितिले खोज तथा उद्धार गरेर नेपाल पठाएको हो। उनकी आमा सानी घिमिरेले खोजीका लागि सार्वजनिक अपिल गरेपछि गोपालको खोजी भएको थियो। शुक्रबार क्लालाम्पुरबाट काठमाडौँ आएका गोपाल शनिबार घर आइपुगेका सांसद एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए।

मलेसियामा खोज्न र उद्धार गरेर नेपालसम्म ल्याउन पहल गरेका सांसद शर्माले आमा सानीको कारुणिक अपिलपछि मलेसियामा रहेको नेपाली जनसम्पर्क समितिको सक्रियता र त्यहाँको नेपाली राजदूतावासको सहयोगमा गोपालको सकुशल उद्धार सम्भव भएको बताए।

‘गोपाल भाइ मलेसियामा भेटिनुभयो मात्र होइन उहाँकी आमाले हराइरहेको छोरालाई आज आफ्नै अँगालोमा पाउनुभयो,’ सांसद शर्माले उद्धारप्रति खुसी व्यक्त गर्दै भने, ‘यो नै सबैभन्दा ठूलो खुसी हो।’

गैरकानुनी रूपमा मलेसियामा रहेका गोपाललाई स्वदेश फर्काउन हवाई टिकट र जरिवाना गरेर १ लाख ४ हजार १६० रुपैयाँ तिर्नुपरेको नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोलाराज पङ्गेनीले जानकारी दिए।

२०६१ चैत ८ गते प्रोडक्सन अपरेटर कामका लागि श्रम अनुमतिपत्र पाएर १९ वर्षका उमेरमा गोपाल मलेसिया गएका थिए। घर फर्किँदा उनी ३७ वर्षको भइसकेका छन्। मलेसिया पुगेको एक सातापछि उनीमाथि गैरकानुनी कामदार भएको आरोप लागेको थियो। यसपछि उनको वास्तविक अवस्थाबारे नेपालमा रहेको परिवार बेखबर थियो।

विदेशमा हराएको छोरा फर्केर घर आएकामा घिमिरेकी आमा सानीले खुसी व्यक्त गरिन्। उनले छोरा खोजिदिन पहल गरिदिने सबैप्रति आभार प्रकट गर्दै अब दुःखजिलो गरेर स्वदेशमै गरिखाने बाटोमा लाग्न छोरालाई आग्रह गरेकी छन्।

गोपालले मलेसियामा रहँदा ज्यादै दुःख र सास्ती व्यहोर्नुपरेको बताए। ‘गैरकानुनी कामदार भएपछि बस्न र खानै मुस्किल परेको थियो,’ उनले आमासँग आफ्नै घरमा भेट भएपछि भने, ‘यतिका वर्ष विदेश बस्दा सुको कमाएर घर पठाउन सकिनँ। आमाको आशीर्वादले बाँचेर आउन पाएँ, यसैमा म खुसी छु।’

घरमा गोपालका एक छोरा पनि छन्। उहाँकी आमा सानी नेत्रहीनको समूहलाई सडक गायनमा डोहोर्याएर गुजारा चलाउँदै आएकी छन्। घरको आर्थिक स्रोतले खान लाउन नपुग्ने जनाउँदै छोरालाई वैदेशिक रोजगारीमा पठाउन ऋण काढ्दा घर पनि बैंकको धितोमा रहेको उनले बताइन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत