बुधबार, माघ ३०, २०८१

गाडीले मान्छे किच्ने एसपी दाहाल २२ दिनदेखि हिरासतमा !


कान्तिपथ


नेपाल प्रहरीका प्रहरी उपरीक्षक भीमबहादुर दाहाल २२ दिनदेखि हिरासतमा छन् । प्रदेश प्रहरी कार्यालय धरानमा कार्यरत दाहाललाई सवारी ज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो ।

दाहालले चलाएको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि २४ कात्तिकमा दाहाल पक्राउ परेका थिए । २४ कात्तिकको राति करिब ९ बजे दाहालले चलाएको मे १ च ७८३९ नम्बरको गाडी र मे १० प १६६९ नम्बरको मोटरसाइकल पूर्व-पश्चिम राजमार्गको कन्काई नगरपालिका–८ बिरिङ पुलमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार कमल गाउँपालिका– ६ का १८ वर्षीय अनिल मडीको मृत्यु भएको थियो ।

घटनापछि पक्राउ परेका प्रहरी उपरीक्षक दाहाललाई म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

दुर्घटनामा परेको गाडी एसपी दाहालले चलाएका थिए । दुर्घटनामा मोटसाइकल चालक कमल गाउँपालिका– ६ का १९ वर्षीय खगेन्द्र ताजपुरिया सामान्य घाइते भएका थिए । मोटरसाइकलमा सवार १८ वर्षीय पुजन राजवंशी र १८ वर्षीय अनिल मडी गम्भीर घाइते भएका थिए । मडीलाई अस्पताल पुगेलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।

दुर्घटनाको कारण तिब्र गति रहेको प्रहरीले बताएको छ । दुवै सवारी लापरवाहीपूर्ण तरिकाले चलाएका कारण दुर्घटना भएको प्रहरी स्रोतको दाबी छ । घटना लगत्तै दाहाललाई इलाका प्रहरी कार्यालय अनारमनिले नियन्त्रणमा लिएको थियो । उनीमाथि दश दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी रिजालले बताए ।

सर्वसाधारणले प्रहरीको उच्च तहका व्यक्तिले घटाएको घटना त्यतिकै सामसुम पार्ने आशंका गरे पनि प्रहरीले भने कानुन अनुसार नै कारबाही अगाडि प्रक्रिया अगाडि बढाएको छ ।

प्रहरीले एसपी दाहाललाई पनि सवारी ऐन अनुसार नै कारबाही हुने भएकोले बढीमा २५ दिन हिरासतमा लिएर कारबाही अगाडि बढाउने जनाएको छ ।

घटनाका बारेमा पनि इलाका प्रहरी कार्यालय बिर्तामोडले नै छानबिन गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत