काठमाडौं । नेपालीमा एउटा भनाइ छ लोभले लाभ, लाभले विलाप । जुन चीजमा लोभ गरियो थियो त्यो प्राप्त भो लाभ भयो तर दिगो भएन । यस्तै पदको दुरुपयोग गरेर उपसभामुख इन्दिरा राना विवादमा परेकी छन् ।
केही नेपाली युवालाई अमेरिका पठाउन दूतावासलाई सिफारिससहित लेखेको पत्र छताछुल्लपछि उनी विवादसहित तनावमा परेकी हुन् ।
धर्मपुत्र-पुत्री बनाएर विदेश पठाउने काममा पनि सन्देहास्पद भूमिका रहेको आरोप लागिरहेका बेला उपसभामुख रानाले केही युवाका लागि भिसा दिन भन्दै अमेरिकी दूतावासलाई लेखेको पत्रले अर्को समस्या निम्त्याएको हो ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुख बनेकी रानाले २६ फेब्रुअरी २०२३ मा लेखेको एउटा पत्र अहिले भाइरल भएको छ ।
उनले आफूसहित ६ जनालाई भिसाका लागि दूतावासमा पत्र लेखेकी थिइन् ।
आफ्नो कार्यालयको लेटरहेडमा सिफारिस गरेको पत्रमा उनले आफूसहित उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा तामाङ, सुजन घर्ती मगर र धनप्रसाद गुरुङका लागि उनले न्यूयोर्कमा हुने कार्यक्रममा जान भिसा लगाइदिन भनेकी थिइन् ।
रानाले युएन उमेनको न्यूयोर्कमा हुने ६ मार्च २०२३ देखि १७ मार्चा २०२३ सम्म हुने सीएसडब्लु६७ मा भाग लिनका लागि भिसा दिन अमेरिकी दूतावाससमक्ष सिफारिस गरेकी थिइन् ।
‘म आउँदो ६ मार्च देखि १७ मार्चसम्म अमेरिकाको न्यूयोर्कमा आयोजना हुने एनजीओ सीएसडब्लु६७ फोरममा जान लागिरहेकी छु’, उनले पत्रमा भनेकी छन्, ‘उक्त कार्यक्रमको अतिव्यस्त तालिकाका कारण म आफ्नो टीमका सदस्य, सांसद र सहयोगीहरू सबैजनाको अन्तर्वार्ता एकै दिन मिलाइन दिन पनि अनुरोध गर्न चाहन्छु ।’
उनले उक्त पत्रमा युएन उमेनको उक्त कार्यक्रम नेपालबाट जाने सबै प्रतिनिधिका लागि एकदमै महत्वपूर्ण रहेको जिकिर गरेकी छन् ।
विवाद
भिसा माग्दै अमेरिकी दूतावासलाई लेखेको पत्र बाहिरिएपछि सत्तारुढ दल नेपाली कांग्रेसले रानाको राजीनामा मागेको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले उपसभामुख रानाले पदीय आचरणविपरीतको कार्य गरेकाले राजीनामा दिनुपर्ने बताए ।
रानाले रकम लिएर पनि अमेरिका नपठाएको भन्दै केही पीडितहरूले खतिवडा सभापति रहेको राज्यव्यस्था समितिमा उजुरी गरेका छन् ।
उपसभामुख रानाले आफूमाथि लागेको गम्भीर आरोपबारे केही बोलेकी छैनन् ।
रानालाई उपसभामुख बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले यसबाबारे सभामुख देवराज घिमिरेसँग चासो राखेको छ ।
रास्वपामा गुपचुप
रास्वपा नेताहरूका अनुसार उपसभामुखले अमेरिकी दूतावासलाई लेखेको पत्रबारे पार्टीमा कुरा उठेको थियो ।
संगठन विभागका सचिव शंकर श्रेष्ठले सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले लगायत नेताहरूलाई यसबारे जानकारी गराएका थिए । तर यिनिहरूले गुपचुप राखे ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ