शुक्रबार, चैत्र २७, २०८२

वीरगञ्जको आन्तरिक राजस्व खस्कियो


कान्तिपथ


पर्सा । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक वर्ष २०८०/८१ मा रु छ अर्ब ८६ करोड ८६ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । गत आवमा अन्तःशुल्क र आयात घटेसँगै राजस्व सङ्कलनमा प्रत्यक्ष असर देखा परेको छ ।

कार्यालयले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा रु २७ करोड १५ लाख कम राजस्व सङ्कलन गरेको छ ।

आन्तरिक राजस्व कार्यालय वीरगञ्जका प्रमुख कर अधिकृत ढाकाराम तिवारीले कार्यालयले गत आवभरिमा सबै शीर्षकमा रु छ अर्ब ८६ करोड ८६ लाख ७८ हजार राजस्व सङ्कलन गरेको बताए ।

“गत आवको वर्षभरिमा मूल्य अभिवृद्धि कर सङ्कलन र आयकर सङ्कलन उत्साहजनक देखिएको छ”, उनले भने, “गत आवमा अन्तःशुल्क करबापतको राजस्व असुलीमा धेरै गिरावट आएको छ । यसले समग्र राजस्व सङ्कलनमा असर पारेको छ ।”

आन्तरिक राजस्व विभागले गत आवमा कार्यालयका लागि रु नौ अर्ब ४१ करोड ९७ लाख ९३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।

कार्यालयले गत आवमा आयकरतर्फ रु दुई अर्ब २६ करोड ७५ लाख ५४ हजार सङ्कलन गरेको छ । मूल्य अभिवृद्धि करतर्फ रु दुई अर्ब २० करोड २५ लाख चार हजार सङ्कलन गरेको छ ।

सोही अवधिमा अन्तःशुल्कतर्फ रु चार अर्ब २० करोड २५ लाख ३६ हजार सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । तर गत आवमा हिमालयन डिष्ट्रिलरीको उत्पादन घटेसँगै अन्तःशुल्कबापतको रकममा प्रत्यक्ष प्रभावित भएको देखिन्छ । कार्यालयले अन्तःशुल्कबापत रु दुई अर्ब ३९ करोड ८६ लाख २० हजार सङ्कलन गरेको छ ।

प्रमुख कर अधिकृत तिवारीले राजस्व सङ्कलन बढाउन नियमित रूपमा बजार अनुगमन र कर सचेतनालगायत कार्यक्रम अघि बढाउँदै आइरहेको बताए ।

आन्तरिक राजस्व विभागले आव २०७९/८० मा कार्यालयलाई रु १० अर्ब ६२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकामा सो अवधिमा भने रु सात अर्ब १४ करोड सङ्कलन गरेको थियो । कार्यालयले विशेष गरी आयकर, भाडाकर, ब्याजकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र स्वास्थ्य कर असुली गर्ने गर्छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत