बुधबार, चैत्र २५, २०८२

गठ्ठाघर घटना : मृतक कोइरालाले केही दिनअघि गरेका थिए छोरीलाई बिदाइ


कान्तिपथ


काठमाडौं । भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो ट्रकको ठक्करबाट ज्यान गुमाएका पुरुषको सनाखत भएको छ ।

मृतक ओखलढुंगाको चिसंखुगढी गाउँपालिका -४ घर भई हाल काठमाडौँको बूढानीलकण्ठ -१० कपन कपन बस्ने ६५ वर्षका उत्तम कोइराला रहेको पुष्टि भएको छ ।

यसअघि बा३९प ८९४४ नम्बरको स्कुटरलाई ना६ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा एक व्यक्तिको घटनास्थलमै महिला भन्दै घटना विवरण प्रहरीले नै सार्वजनिक गरेको थियो ।

उत्तमको पुर्ख्यौली घर ओखलढुंगाको चिशंखुगढी -५ रातमाटे रहेको कुरा उनका भतिजा नवराज कोइरालाले खुलाएका छन् । बिहीबार कपनबाट भक्तपुरस्थित भतिजाको घर जान्छु भनेर स्कुटी लिएर हिँडेका थिए । उत्तम सहिद परिवारका सदस्य रहेको पनि खुलेको छ ।

साँझ मात्रै उत्तमले हाँकेको स्कुटीसँगै उत्तम कोइराला, ओखलढुंगा रातमाटे ५ लेखिएको सवारी लाइसेन्स र बिलबुके भेटिएको थियो । त्यसपछि प्रहरीले खोजीका क्रममा आफन्तसम्म पुगेको थियो ।

आफन्तहरूले उत्तमलाई सनाखत गरिसकेका छन् । उनको शव अहिले त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । शव आजै आफन्तको जिम्मा लगाइँदैछ । तर उत्तमका आफन्तले दुर्घटनाको छानबिनका लागि समिति नबनेसम्म शव नबुझ्ने बताएका छन् ।

उता स्कुटरलाई ठक्कर दिएका ट्रक चालक सर्लाहीको मलंगवा नगरपालिका २ बस्ने ३२ वर्षीय मलङ सतेन्द्र श्रेष्ठलाई पक्राउ गरेर बानेश्वर वृत्तमा राखिएको छ ।

उत्तमका तीन छोरी छन् । करिब २० वर्षदेखि काठमाडौंमै बस्दै आएका उत्तमकी जेठी अस्ट्रेलिया छिन् । उत्तमले माहिली छोरी आस्थालाई पनि गत साउन २१ गते राति उनी आफैं त्रिभुवन विमानस्थल पुगेर अमेरिकाका लागि बिदाइ गरेका थिए ।

तीनै जना छोरीहरू देशबाहिर रहेपछि अहिले उत्तमको शव बुझ्न ओखलढुंगाबाट उनका भतिजा नवराजसहितका आफन्त आउँदैछन् । तर छोरीहरू विदेशबाट नआएसम्म शव बुझेर दाहसंस्कार नगर्ने पक्षमा उनका आफन्तहरू देखिएका छन् ।

उनका नातेदारसमेत रहेका वरिष्ठ पत्रकार हरिहर विरहीले उत्तम सहिद महेश कोइरालाका भाइरहेको पुष्टि गरे । महेशको २०३१ सालमा नेपाली कांग्रेसले पञ्चाती शासकविरुद्ध थालेको सशस्त्र आन्दोलनका क्रममा राज्य पक्षबाट ओखलढुंगामै मारिएका थिए ।

कांग्रेसले टिम्मुरबोटे काण्डका रुपमा सम्झिने उक्त घटनालाई नेपाली राजनीतिमा ओखलढुंगा काण्डका रुपमा चिनिन्छ ।

कोइरालासहित तत्कालीन आन्दोलित १९ जना मुक्ति सेनालाई गुफामा सुतेको अवस्थामा तत्कालीन शासकका सुरक्षाकर्मीले घेरा हालेर हत्या गरेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत