शनिबार, भदौ २२, २०८१

सहकारी संस्था बचत रकम दुरुपयोग प्रकरण : रविविरुद्ध ५० प्रश्न


कान्तिपथ


काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिएको छ ।

गोर्खा मिडियामा विभिन्न सहकारीबाट गैरकानुनी रूपमा बचतकर्ताको रकम लगानी गरिएको बताइएको छ । यही विषयलाई लिएर केही महिनाअघि सदनमा हंगामा भएपछि छानबिन समिति गठन गरिएको थियो । गोर्खा मिडिया नेटवर्कमा काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम लगायतका सहकारीबाट रकम सारिएको आरोप छ ।

पूर्व गृहमन्त्रीसमेत रहेका सभापति रवि लामिछानेले कुनै पनि सहकारीबाट गोर्खा मिडियामा आएको रकममा आफ्नो हस्ताक्षर, नागरिकता लगायतका कुनै पनि कागजात समावेश नभएको बयान दिएका छन् । समितिले शुक्रबार नै गोर्खा मिडिया नेटवर्कका सञ्चालक छबिलाल जोशीसँग पनि बयान लिएको थियो ।

सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न संसदले गत १५ गते छानबिन समिति गठन गरेको थियो । समितिको तीन महिनाको समयअवधि भदौ २३ गते सकिँदैछ । उक्त समयअवधिभित्रै प्रतिवेदन बुझाउने गरी प्रतिवेदनको मस्यौदा समेत तयार भइरहेको समितिले जनाएको छ ।

शुक्रबार सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विषेश समितिलाई बयान दिने क्रममा उनले बुटवलको सुप्रिम, चितवनको सहारा, पोखराको सूर्यदर्शन र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीबाट आएको कुनैपनि ऋण र अन्य रकममा आफ्नो संलग्नता नभएको बताएका हुन् ।

समितिका सभापति सूर्य थापाले दिएको जानकारी अनुसार, रविलाई सोध्नका लागि लगभग ५० वटा प्रश्न तयार पारिएका छन् । तीमध्ये झण्डै आधा प्रश्न सोधिएको छ ।

गोर्खा मिडियामा आर्थिक लेनदेनको सबै काम जीबी राईमार्फत नै भएको र आफू प्रशासनिक काममा मात्रै संलग्न रहेको बयान समितिलाई दिएको थापाले बताए । ‘जीबी राईसँगको चिनजानको विषयमा, जीबी राईको व्यवसायिक संलग्नताको बारेमा बताउनुभएको छ । अहिले आधाभन्दा थोरैमा हामी पुगेका छौँ,’ सभापति थापाले भने, ‘सोधपुछ जारी छ । उहाँले आफ्नो विषयहरू चाहे बुटवलको सुप्रिम सहकारी होस् वा चितवनको सहारा सहकारी, चाहे पोखराको सूर्यदर्शन होस् वा काठमाडौँको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा आएका, उहाँको नाममा खडा गरिएका ऋण, रकमका सन्दर्भमा आफ्नो हस्ताक्षर, नागरिकता, कागजातसहितका चिज समावेश नभएको स्पष्ट गर्नुभएको छ ।’

आफू प्रशासकीय काममा मात्रै गोर्खा मिडियामा रहेको भन्दै उनले आर्थिक विषय जीबीलाई नै थाहा हुने दाबी गरेको सभापति थापाले बताए । ‘संस्थाको प्रबन्ध निर्देशकको रुपमा सामान्य रुपमा प्रशासकीय र आन्तरिक काममा संलग्न रहेको तर, आर्थिक स्रोत जुटाउने काम जीबी राईले गर्ने गरेको हुनाले कहाँबाट कसरी रकम प्राप्त भयो भन्ने बारेमा जीबी राईलाई थाहा हुने विषय राख्नुभएको छ,’ उनले भने, ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत