काठमाडौँ । पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरिने प्रहरीले जनाएको छ ।
जाेशीकाे बयानपछि मात्रै लामिछानेलाई पक्राउ गरिने प्रहरीले जनाएको हाे।
जोशी, लामिछाने र सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई व्यापारिक साझेदार हुन् ।
उनीहरुले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँचवटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय विशेष छानबिन समितिको निष्कर्ष छ । सूर्यदर्शनको १ अर्ब ८ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
लामिछाने गोर्खा मिडियाका निर्देशक थिए । सहकारीबाट अवैध तरिकाले ल्याएको करोडौं रकम उनको हस्ताक्षरबाट चेक काटिएको छ । आज गृहमन्त्री रमेश लेखकले संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न आईजीपी वसन्त कुँवरलाई निर्देशन दिएका हुन् ।
सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा आएपछि सो रकम खर्च गर्ने र गराउने प्रक्रियामा लामिछाने संलग्न रहेको संसदीय छानबिन समितिको ठहर छ ।
समितिको सिफारिस अनुसार गोर्खा मिडियाका सञ्चालक कुमार रम्तेल, छविलाल जोशी र प्रबन्ध निर्देशक लामिछानेविरुद्ध पूरक अभियोग लैजान लागिएको हो । गोर्खा मिडियाका अध्यक्ष गितेद्रबावु राईविरुद्धको मुद्दा कास्की जिल्ला अदालतमा विचाराधीन छ ।
उनलाई पक्राउ गर्न इन्टरपोलबा रेड नोटिस जारी गरिएको छ । सूर्यदर्शन सहकारीका कोषाध्यक्ष रम्तेल यसअघि नै पक्राउ परेका थिए । अहिले उनी मुद्दा पुर्पक्षका लागि जेलमा छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ