आइतवार, अशोज २०, २०८१
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • नेपाली सेनामा नेतृत्व परिवर्तन भए लगतै राष्ट्रसंघको सल्लाहकार उम्मेदवारी

नेपाली सेनामा नेतृत्व परिवर्तन भए लगतै राष्ट्रसंघको सल्लाहकार उम्मेदवारी


कान्तिपथ


काठमाडाैं । नेपाली सेनामा नेतृत्व परिवर्तन भए लगतै संयुक्त राष्ट्र संघको सैनिक सल्लाहकार (मिलिटरी एडभाइजर) मा नेपालले उम्मेदवारी दिएको छ ।

हालै नेपाली सेनामा नेतृत्व परिवर्तन भएसँगै मिलिटरी एडभाइजरमा उपरथी प्रेमध्वज अधिकारीलाई उम्मेदवार बनाएर पठाइएको हो ।

अहिलेका प्रधानसेनापति अशोकराज सिग्देलले कार्यभार सम्हालेको केही दिनमै उक्त पदमा उम्मेदवार पठाएका हुन् ।

राष्ट्रसंघले आग्रह गर्दा पनि यसअघिका प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाबाट कुनै पनि उम्मेदवार पठाएका थिएनन् । जसले गर्दा नेपाली सेना भित्र असन्तुष्टिसमेत थियो ।

नेपालले न्युयोर्कस्थित राष्ट्रसंघको लागि स्थायी नियोगमार्फत राष्ट्रसंघको मुख्यालयमा उम्मेदवारी पठाएको हो ।

नेपाललाई आवेदनका लागि राष्ट्रसंघले आग्रह गरेको सैनिक सल्लाहकार पद अवसरका हिसाबले अहिलेसम्मकै ठूलो हो ।

सरकारले उपरथी अधिकारीलाई राष्ट्रसंघमा रथीको हैसियतमा उम्मेदवार बनाएर पठाएको छ । उनी उक्त पदमा प्रतिस्पर्धा गर्दा र सल्लाहकारमा चयन भएमा रथीकै हैसियतमा काम गर्ने छन् । तर चयन नभएमा भने उनी नेपालमा उपरथी पदकै हैसियतमा रहने छन् । फरक यति मात्रै हाे ।

सैनिक सल्लाहकारमार्फत राजनीतिक मामिला र स्थलगत समर्थनका लागि उपमहासचिव, महासचिव र सुरक्षा परिषद्लाई सम्बन्धित विषयमा अनुरोध गरिन्छ । 

सैनिक सल्लाहकारले शान्ति सेना परिचालन विभाग, ‘फिल्ड सपोर्ट’ विभाग र शान्ति सेना परिचालन विभागको नेतृत्वमा सैनिक ‘कम्पोनेन्ट’ हरूसँगको सञ्चालन गर्नुपर्छ । राजनीतिक विभागको नेतृत्वमा सैन्य सल्लाहका काम हुने मिसन कार्यालय र डिभिजनका प्रमुखलाई सल्लाह पनि दिनुपर्ने हुन्छ ।

अहिले नेपालबाट विभिन्न मिसनहरुमा ४० विज्ञहरु, सशस्त्र प्रहरी बलबाट १८०, व्यक्तिगत रुपमा ३३, कर्मचारीका रुपमा ११३ र शान्ति सैनिकका रुपमा ५ हजार ७५३ सहित ६ हजार ११९ जना रहेका छन् । जसको तुलनामा दोस्रो स्थानमा रहेको रुवान्डाको कुल संख्या ५ हजार ८७६ छ भने तेस्रो स्थानमा रहेको बंगलादेशको कुल संख्या ५ हजार ८६६ रहेको छ ।

यूएनले सन् १९४८ देखि शान्ति सैनिक खटाउने गरे पनि नेपालले सन् १९५८ बाट मात्रै उक्त जिम्मेवारी बहन गर्न थालेको हो । नेपाल सन् १९५५ मा यूएनको सदस्य भएपछि विश्व शान्तिमा भाग लिन थालेको हो । नेपालबाट पहिलोपटक सन् १९५८ मा युनाइटेड नेसन्स अब्जर्भर ग्रुप इन लेबनान (युनिफिल) मा नेपाली सैनिक पर्यवेक्षकका रूपमा खटिएका थिए । नेपालले कन्टिन्जेन्टका रूपमा सन् १९७४ देखि नेपाली शान्ति सैनिकको फौजलाई युनिफिलमै खटाएको हो ।

नेपालले विगत ६६ वर्षे आफ्नो शान्ति मिसनमा ४४ ओटा मिसनहरुमा काम गरिसकेको छ । नेपाली सरक्षाकर्मीहरुसँग दुई दर्जनभन्दा बढी मुलुकमा काम गरेको अनुभव छ ।

नेपाली सेनाको तथ्यांकअनुसार विगत ६६ वर्षमा नेपाली सेनाबाट १ लाख ५३ हजार १०८ सैनिकहरुले विश्व शान्तिको लागि भूमिका निर्वाह गरिसकेका छन् । जसमध्ये ७३ जनाको ज्यान गएको छ भने ८३ जना घाइते भएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत