काठमाडौं । काठमाडौँमा जारी नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को जारी २३औँ राष्ट्रिय सम्मेलनको बन्दसत्र आजलाई स्थगन गरिएको छ ।
बन्दसत्र असोज १७ गते बिहान १० बजे पुन: सञ्चालन गरिने अखिल क्रान्तिकारीको अध्यक्ष मण्डलले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
असोज १० गते उद्घाटन भएको सम्मेलन उमेर हदको विषयमा विवाद बढेपछि अन्योलमा रहेको छ ।
विवाद मिलाउन माओवादी केन्द्रले पार्टीका उपमहासचिव शक्ति बस्नेतलाई खटाएको छ ।
उनले विद्यार्थी नेताहरूसँग मंगलबार राति पनि अबेरसम्म छलफल गरेका थि ए। तर छलफलमा कुनै सहमति हुन नसकेको अनेरास्ववियु क्रान्तिकारीका निवर्तमान अध्यक्ष एवम् प्रवक्ता जिपी मैनालीले बताए ।
बुधबार अखिल (क्रान्तिकारी) का पदाधिकारीहरूबीच अब कसरी अघि बढ्ने भन्नेबारे छलफल हुँदैछ । उमेर हद लगाएर निर्वाचन गर्ने, जो पनि उम्मेदवार हुन पाउने गरी निर्वाचन गर्ने र सम्मेलन अहिलेका लागि स्थगित गर्ने तीन विकल्पमाथि केन्द्रित रहेर बुधबार छलफल हुने एक नेताले जानकारी दिएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै भनेका थिए, ‘पार्टीले कुनै पनि हस्तक्षेप गर्दैन, यही हलबाट नेतृत्व टुंगो लगाउनुस् ।’ तर, केही दिनयता बन्द सत्रमा चलिरहेको लफडा हेर्दा प्रचण्डले भने जस्तो विद्यार्थी नेताहरुले आफै नेतृत्व टुंगो लगाउने देखिंदैन । अब पार्टीले हस्तक्षेप गर्नुपर्ने अवस्था सिर्जना भएको नेताहरु बताउँछन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ