शुक्रबार, बैशाख १८, २०८३

मेलम्चीको पानी आजै काठमाडौँ ल्याइने


कान्तिपथ


काठमाडौँ । मेलम्चीको खानेपानी आजै काठमाडौँको सुन्दरीजल ल्याइने भएको छ ।

खानेपानीमन्त्री प्रदीप यादव र मेलम्ची सङ्घर्ष समितिबीच वार्ता सफल भएपछि आजै मेलम्चीबाट पानी काठमाडौँ ल्याउन लागिएको हो ।

 खानेपानीमन्त्री यादव र मेलम्ची सङ्घर्ष समितिबीच सोमबार राति भएको वार्तामा काठमाडौँमा पानी पठाउने विषयमा सहमति भएको थियो । 

उक्त सहमतिपश्चात् आज मेलम्चीको पानी सुन्दरीजलमा ल्याउने तयारी गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई रत्नप्रसाद लामिछानेले राससलाई जानकारी दिनुभयो ।

उनले भने, “काठमाडौँमा मेलम्चीबाट पानी पठाउने विषयमा खानेपानी मन्त्री र सङ्घर्ष समितिबीच सहमति भएको छ । आजै मेलम्चीको पानी सुन्दरीजल ल्याउने तयारी हुँदै छ ।” दसैँ अगाडि काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएकामन्त्री यादवसहितको टोलीवार्ताका लागि सोमबार मेलम्ची पुगेको थियो ।

वार्तापछि बाढीपीडित सङ्घर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडौँ उपत्यकामा पानी पठाउन मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको थियो ।

सुरुङभित्र पानी पठाएपछि पानी आजै काठमाडौँ आइपुगेर वितरण प्रणालीमा जोडिने कार्यकारी निर्देशक लामिछानेले बताउनुभयो ।

उनले भने, “मेलम्ची खानेपानी विकास समितिले काठमाडौँ पानी ल्याउन पहिलेदेखि तयारी गरेकाले पानी ल्याउन छिटो हुनेछ ।” विसं २०७८ असार १ गते तथा साउन १६ र १७ गतेको बाढीपछि मेलम्ची खानेपानी आयोजनाको संरचनामा क्षति गरेपछि काठमाडौँमा हिउँदयामभरि पानी ल्याउने र बर्खामा सुरुङ बन्द गर्ने गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत