शनिबार, मंसिर २९, २०८१

लोप हुँदै मखानखेती


कान्तिपथ


महोत्तरी। मखानखेतीका लागि उर्वर भूमि मानिएको महोत्तरीमा मखानखेती लोप हुँदै गएको छ ।

कुनै बेला मिथिला क्षेत्रकै आम्दानीको स्रोत मानिएको मखानखेती लोप हुन थालेको जलेश्वर नगरपालिका–१ का किसान विजय मुखियाले बताए ।

किसानहरूले आम्दानीका लागि पोखरीमा माछापालन गर्न थालेपछि मखानखेती लोप हुन थालेको उनको भनाइ छ ।

जिल्लामा चाडबाड, पूजाआजा, विवाह व्रतबन्धजस्ता शुभकार्य होस् या मृत्यु र श्राद्ध कर्ममा समेत मिथिलामा मखानको प्रयोग हुने गर्दछ । मखान आयआर्जनको माध्यमसँगै मिथिलाको संस्कृति जोगाउने उपक्रम र परम्परागत पुर्ख्यौली पेसा पनि रहेको जलेश्वर नगरपालिका–५ का सांस्कृतिविद् ध्रुव रायले बताए ।

मीठो खाद्य पदार्थका रूपमा रहेको मखान भारतबाट समेत आयात हुने गर्छ । मखानखेती घटेसँगै खासगरी मलाह जातिको रोजगारी घट्दै गएको मलाह जातिका अगुवा राम विशेष मुखिया बताउछन् ।

केही वर्ष अघिसम्म मखानको बजार राम्रो भएपछि उनीहरूले मखानखेती गरी आम्दानी लिन थालेका थिए । तर किसानहरूले पोखरीमा माछापालन गर्न थालेपछि सो खेती लोप हुन थालेको स्थानीय जोगी मुखियाले बताए। विशेषगरी पोखरी र तलाउमा गरिने मखानखेती सुरुमा मेहनत र खर्च गर्नु परे पनि पछि थोरै मेहनतमा आय आर्जन गर्न सकिने खेती हो । मलाह जातिहरू मखानखेतीतर्फ बढी आकर्षित थिए । पोखरीभित्र मखान तयार भएपछि उनीहरू बाहिर निकाली घाममा सुकाई आगोमा भँटेर लावा तयार गरी बेच्ने चलन थियो ।

जिल्लाको मटिहानी, सिमरदही, धिरापुर, आवर रामगोपालपुर, हरिहरपुर हरिनमरी र सदरमुकाम जलेश्वर नगरपालिकाका दर्जनौँ गाउँमा दुई सय ५० बढी पोखरीमा मखानखेती गरिन्थ्यो । हाल आएर थोरै सङ्ख्यामा मात्रै हुने गरेको स्थानीयवासी बताउँछन् । मिथिलामा कोजाग्रत पूर्णिमाका दिन ठूलो परिमाणमा मखान बिक्री हुने गर्दछ भने दीपावली र छठ पर्वलगायत मखानको विशेष महत्त्व हुने गर्दछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत