बिहिबार, जेष्ठ २९, २०८२

प्रधानमन्त्री ओलीसँग चिनियाँ नेताको भेट


कान्तिपथ


काठमाडौँ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार शिष्टाचार भेटघाट गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देश र दुई पार्टीबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको हो ।

प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिस्ट पार्टी र महासचिव सी जिनपिडको नेतृत्वमा चीनमा गरिबीको अन्त्यसहित भएको चौतर्फी विकास असाधारण रहेको उल्लेख गर्दै नेपालले पनि त्यस विकासबाट लाभ लिन चाहेको बताए।

प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरताका लागि दुई ठूला दल एमाले र कांग्रेसबीचको सहकार्यमा नयाँ सरकार गठन भएको जनाउँदै नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोगको अपेक्षा गरेको पनि बताए ।

प्रधानमन्त्री ओलीले दुई मुलुकबीच सरकार–सरकार, जनता–जनताका साथै व्यापारिक, पौराणिक र सांस्कृतिक सम्बन्ध रहेकाले उच्चस्तरीय भ्रमणको आदानप्रदानको क्रमलाई निरन्तरता दिनुपर्ने जनाए ।

प्रधानमन्त्री ओलीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहँदै चीनविरुद्धका कुनै पनि गतिविधिका लागि नेपाली भूमि प्रयोग गर्न नदिनेमा नेपाल सदैव स्पष्ट रहेको स्मरण गराए ।

चिनियाँ नेता छेन्ले आफू महासचिव जिनपिङको निर्देशनमा नेपालको भ्रमणमा आएको अवगत गराउँदै नेपालको सुख र समृद्धिमा चीनको सधैं साथ रहने स्पष्ट पारे ।

नेपालका राजनीतिक दलले गरेका निर्णयमा आफूहरुको सम्मान रहने र भ्रमणका क्रममा आएका विषयवस्तु महासचिव सीलाई जानकारी गराइने पनि उनले बताए।

भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल, एमालेका सचिव एवं विदेश विभाग प्रमुख रघुवीर महासेठ, विभागका सदस्यद्वय अञ्जान शाक्य र गोपाल खनाल, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, नेपालका लागि चिनियाँ राजदूत छेन सोङलगायत सहभागी थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत