शनिबार, मंसिर २९, २०८१

राजविराज हटियामा ‘सपिङ कम्प्लेक्स’ बन्दै


कान्तिपथ


सुन्दर हाट र व्यवस्थित बजार बनाउने उद्देश्यले राजविराज हटियामा ‘सपिङ कम्प्लेक्स’ निर्माण गरिएको छ । दुई तले उक्त कम्प्लेक्स निर्माणको अन्तिम चरणमा पुगेको छ ।

पाँच वर्षअघि राजविराज नगरपालिकाका तत्कालीन नगरप्रमुख शम्भुप्रसाद यादवको नेतृत्वमा थालिएको कम्प्लेक्स निर्माण सम्पन्न हुन लागेको हो। राजविराज–७ स्थित हटियाको एक बिघा ११ कट्ठा जग्गामा सघन सहरी विकास कार्यक्रमअन्तर्गत नगरपालिकाले प्राप्त गरेको कूल रु ३५ करोडमध्ये रु १९ करोडमा भवन निर्माण थालिएको हो ।

निर्धारित समयमा भवन सम्पन्न नहुँदा हटिया वरपर जथाभावी पसलहरू सञ्चालन हुँदै आएका छन् । जथाभावी सागसब्जी, किराना पसल, फलफूल, विभिन्न कस्मेटिक समान, चामल, भाँडावर्तन, दाउरा नाङ्लो बेच्ने व्यापारी अव्यवस्थित रूपमा बसेर बिक्री गर्न बाध्य छन् ।

स्थानीय व्यापारी श्रवण दासले हटिया व्यवस्थित गर्न निर्माण थालिएको सपिङ कम्प्लेक्स निर्माणले गति लिएपछि छिट्टै व्यवस्थित भवनमा बसेर व्यापार गर्न पाइने आशा गरेका छन् । सपिङ कम्प्लेक्सको ९० प्रतिशत काम सकिएर ढल निकासीका लागि नाला बनाउने काम भइरहेको कार्यवाहक नगरप्रमुख इसरत परविनले बताए ।

सपिङ कम्प्लेक्समा तीन सय आठ कोठा रहने छन् । भवन निर्माण डिभिजन कार्यालयमार्फत रसुवा रोसन जेभी निर्माण कम्पनीसँग सम्झौता भई भवन निर्माण भइरहेको छ । ठेकेदारको लापरबाहीका कारण निर्धारित समयभन्दा तीन वर्ष ढिला भएको हो ।

सपिङ कम्प्लेक्स भवन निर्माण छिटो सम्पन्न नहुँदा हाल राजविराजको राम मन्दिर देखि पानीट्याङकी रोड बिच सडकमा हाट लगाउँदा सर्वसाधारण तथा सवारी चालकहरूलाई आवतजावतमा समस्या हुने गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत