आइतवार, फाल्गुन ३, २०८२

म्याग्दीका छ सय घरमा विद्युत् सुविधा विस्तार


कान्तिपथ


म्याग्दी । मालिका गाउँपालिकाको छ सय बढी घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले मालिकाको वडा नम्बर १ छिस, रिठेचौर, २ को रुम, बेली, जेम, घाङ्लेपानी, वडा नम्बर ३ को लुप्सीपार, पात्ले, खतेन र ४ नम्बर वडाको ओखरबोटमा विद्युतीकरण गरेको हो ।

मालिका- २ रुम, बेली, जेम, घ्याङ्लेपानीमा दुई ५६, मालिका- ३ खतेनमा ५०, लुप्सीपारमा ५४, पात्लेका एक सय २०, मालिका- ४ ओखरबोटमा एक सय दुई घरमा बिजुली बलेको नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले जानकारी दिए ।

प्राधिकरणको विद्युतीकरण कार्यक्रमअन्तर्गत पहिलो चरणमा मालिकाका चारवटा वडामा बत्ती बलेको हो ।

म्याग्दीका १४ स्थानका दुई हजार एक ८३ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारका लागि रु २२ करोड बजेटको योजना सञ्चालन भएको छ ।

घ्याङलेपानीबाहेकका बस्तीका बासिन्दाले यसअघि उज्यालोका लागि लघुजलविद्युत् परियोजनाको विद्युत् प्रयोग गरेका थिए ।

वर्षौँको प्रयासपछि बिजुली बलेपछि स्थानीयमा खुसीयाली छाएको मालिका- ३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले बताए ।

मालिका गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने पात्ले, लुप्सीपार, किटेनी, डाडागाउँ, औला, सेउलीबाङ, अदिभारा, इग्रे, खतेन बस्तीका तीन सय २५ घरमा विद्युतीकरण भएको उनले बताए ।

केन्द्रीय लाइनको विद्युत् सुविधा भएपछि स्थानीयलाई घरायसी कामकाज गर्न, विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन र सार्वजनिक सेवा प्रवाहमा सहज भएको मालिका- ३ पात्लेकी बालकुमारी रोकाले बताइन् ।

विद्युत् सुविधा विस्तारका लागि ४७.६ किलोमिटर मुख्य, एक सय २६ किलोमिटर शाखा लाइन विस्तार र २० वटा ट्रान्सफर्मर जडान गर्न २०८० असोजमा रविन्द्र/ढुंगाना जेभीसँग रु तीन करोड ५४ लाखमा ठेक्का सम्झौता भएको थियो ।

सोही ठेक्कामार्फत मुख्य, शाखा लाइन विस्तार गर्न पोल गाड्ने, तार तान्ने, ढुवानी गर्ने, ट्रान्सफर्मर ढुवानी र जडान गरिएको हो । मिटरबक्स जडान र वायरिङको काम उपभोक्ता आफैँले गरेका हुन् ।

आर्थिक वर्ष २०८०/८१ मा म्याग्दीका ११ स्थानमा एक हजार चार सय ३८ उपभोक्ता थपिएका विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताए । गतवर्ष थपिएकासहित केन्द्रमा २३ हजार ग्राहक छन् । रासस



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत