बिहिबार, मंसिर २०, २०८१

अवैध लागूऔषधसहित ८ जना पक्राउ


कान्तिपथ


रूपन्देही । देवदह नगरपालिका-९ घोडाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम र नगद २६ हजार १ सय रूपैयाँ सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय लाल बहादुर पुन, २७ वर्षीय आशिष परियार र तिलोत्तमा नगरपालिका-२ बस्ने २८ वर्षीय आदित्य शाह रहेका छन् ।

पुनको घरमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त पदार्थ र नगद फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-२ हवाई चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम र गाँजा ५ ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-५ बस्ने २६ वर्षीय आशिष नेपाल र २५ वर्षीय लाल बहादुर राई रहेका छन् । सामुदायिक प्रहरी बिट हवाईचौकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-८ जुम्लिटोल बस्ने २९ वर्षीय किशोर कुमार विकलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्राम सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी शितलाबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ जोकरताल बस्ने २५ वर्षीय शिव नारायण रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ११ मिलिग्राम सहित भद्रपुर नगरपालिका-९ बस्ने २८ वर्षीय एसिया लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मेची प्रहरी बिटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०१-०१४ प ९२६६ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक लिम्बुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत