गैरसरकारी संस्था महासंघ नेपालको अध्यक्षमा अर्जुनकुमार भट्टराई चयन भएका छन् । यही २५ देखि २७ फागुनसम्म काठमाडौंमा सम्पन्न महासंघको ११औँ महाधिवेशनले भट्टराईको अध्यक्षतामा ४८ सदस्यीय केन्द्रीय कार्यसमितिको सर्वसम्मतिले निर्वाचन गरेको हो ।
नवनिर्वाचित अन्य पदधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा नानीमाया थापा र अन्य दुई उपाध्यक्षमा राजेन्द्र शर्मा तथा सञ्जय लम्साल निर्वाचित भएका छन् । त्यस्तै, महासचिवमा देवी खड्का, उपमहासचिवमा भवराज रेग्मी र किरण थापा र कोषाध्यक्षमा गोविन्दबहादुर शाही निर्वाचित भएका छन् ।
केन्द्रीय कार्यसमितिमा ५१ जनाको रहने व्यवस्था छ । अन्य ३ जना सदस्य कार्यसमितिले मनोनीत गर्नेछ भने निर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुने व्यवस्था छ ।
गैरसरकारी संस्था महासंघ नेपालका सदस्य संस्थाहरूको प्रतिनिधित्व गर्दै ९ सय २३ जना गैसस प्रतिनिधिहरूको सहभागितामा राष्ट्रिय नागरिक सम्मेलन, ३०औँ वार्षिक साधारणसभा र ११औँ महाधिवेशन सम्पन्न भएको हो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ