आज काठमाडौंमा गणतन्त्रवादी र राजतन्त्र पक्षधरहरले छुट्टाछुट्टै प्रदर्शन गर्न लागेका छन् । गणतन्त्रवादीहरूले विभिन्न ठाउँबाट जुलुससहित प्रदर्शन गर्ने भएका छन् । उनीहरू विभिन्न ठाउँबाट जुलुससहित भृकुटिमण्डप पुग्ने कार्यक्रम तय भएको छ । समाजवादी मोर्चाले भने आज गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेको हो ।
उता राजतन्त्र पक्षधरहरूले भने तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् । राजतन्त्र पक्षधरहरूले पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा प्रदर्शन गर्न लागेका हुन् । त्यसमा राप्रपाले पनि समर्थन जनाएको छ ।
दुई पक्षले परस्पर विरोधी प्रदर्शन गर्न लागेपछि प्रहरीले सुरक्षा सतर्कता उच्च बनाएको छ । अप्रिय घटना हुन नदिन सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ । यसका लागि ४ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको जनाइएको छ ।
उता आजको प्रदर्शनका कारण भने काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित हुने भएको छ । जसका कारण ट्राफिक व्यवस्थापनमा समस्या पर्ने भएको छ ।
राजतन्त्र पक्षधरले अन्तिम राजा ज्ञानेन्द्र शाहलाई पुनःस्थापना गर्नुपर्ने मागसहित आन्दोलन चर्काउन थालेका छन् । त्यही क्रममा सुवेदी नेतृत्वमा तेस्रा जनआन्दोलन संयोजन समिति बनाएका हुन् । उक्त समितिको ब्यानरमा आन्दोलन अगाडि बढाउन थालेपछि प्रचण्ड, नेपाल र विप्लवसहितका समाजवादी मोर्चाले काउन्टर प्रदर्शन गरेको हो ।
खासगरी २५ फागुनमा राजतन्त्र पक्षधरले गरेको प्रदर्शनको विरोधमा मोर्चाले आज प्रदर्शन गर्ने निर्णय लिएको थियो । तर, आजको गणतन्त्र पक्षधरहरुको प्रदर्शनलाई काउन्टर गर्न सुवेदी नेतृत्वको समितिले आजै अर्को प्रदर्शन गर्ने निर्णय गरेको हो । त्यसैले आज गणतन्त्रपक्षधर र राजतन्त्र पक्षधर सडकमा आमनेसामने हुने भएका छन् ।
सरकारले तीनकुने क्षेत्रमा प्रदर्शन गर्नका लागि राजतन्त्र पक्षधरलाई स्थान उपलव्ध गराएको छ भने गणतन्त्र पक्षधरहरुले पहिला नै भृकुटीमण्डप क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेका थिए ।
त्यसैले आज हुने दुवैको प्रदर्शनलाई रोचक रुपमा हेरिएको छ । राजतन्त्र पक्षधर भनिएका राप्रपा, राप्रपा नेपालसहित विभिन्न समूहले पनि साथ दिएका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ