सोमवार, बैशाख ९, २०८२

काठमाडौंमा सेना परिचालन, स्थिति नियन्त्रणमा लिन प्रयास


गणेश विक


काठमाडौं । राजावादी प्रदर्शनकारीले काठमाडौंका विभिन्न क्षेत्रमा तोडफोड र आगजनी गरिरहेका बेला नेपाली सेना परिचालन गरिएको छ।

सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप चर्किँदै गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ।

नेपाली सेनाका प्रवक्ता सहायकरथी गौरव कुमार केसीका अनुसार बालकुमारी क्षेत्रमा राजदल गणबाट सहसेनानी सन्दीप गुरुङको नेतृत्वमा टोली परिचालन गरिएको छ। अन्य संवेदनशील क्षेत्रमा पनि सुरक्षा व्यवस्था कडा बनाइएको छ।

यसैबीच, गृह मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री रमेश लेखकले सुरक्षा प्रमुखहरूसँग आकस्मिक बैठक बोलाएका छन्। बैठकमा कर्फ्यु आदेश कार्यान्वयन, सुरक्षाको वर्तमान स्थिति र सम्भावित रणनीतिबारे छलफल भइरहेको बताइएको छ।

झडपमा घाइते र क्षतिको विवरण आउँदै

प्रदर्शनको क्रममा केही स्थानमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भीडन्त भएको छ। प्रहरी स्रोतका अनुसार केही प्रदर्शनकारी घाइते भएका छन् भने केहीलाई नियन्त्रणमा लिइएको छ। प्रदर्शनकारीहरूले सरकारी भवन, सार्वजनिक सम्पत्ति र सवारीसाधनमा तोडफोड गरेका छन्।

यसअघि, कर्फ्यु आदेशको उल्लंघन गर्दै प्रदर्शनकारीले माइतीघर, नयाँ बानेश्वर, रत्नपार्कलगायतका क्षेत्रमा नारा जुलुस गरेका थिए। सुरक्षाकर्मीले भीड नियन्त्रण गर्न अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ।

स्थिति नियन्त्रणमा लिन काठमाडौंका विभिन्न क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत