नेपालमा पत्रकारिता पेसा राज्यको चौथो अंगका रूपमा स्थापित भए पनि समाजका सबै वर्गका लागि समान अवसर अझै सुनिश्चित हुन सकेको छैन। विशेषतः दलित समुदायबाट आएका पत्रकारहरू अझै पनि विभेद, तिरस्कार र अवसरको अभावजस्ता समस्यामा जुध्न बाध्य छन्।
दलित समुदायबाट आएका पत्रकारहरूको यथार्थ पनि यही हो – जहाँ उनीहरूले समाचार लेख्नुअघि पहिला आफ्नो जातको सामना गर्नुपर्छ।
‘कलम होइन, जात हेर्ने नजर’
धेरै दलित पत्रकारहरू भन्छन्, “हामी खबर लेख्छौँ, तर समाजले हाम्रो लेखनभन्दा पहिला हाम्रो जात हेर्छ।” पत्रकारिताको मूल मूल्य सत्य, निष्पक्षता र निडरता भए पनि दलित पत्रकारलाई यो मूल्यअनुसार काम गर्न कहिलेकाहीँ सत्ताभन्दा बढी समाजको दृष्टिकोणले रोक्छ। गाउँघरमा समाचार सङ्कलनका क्रममा उनीहरूले ‘तिमी कहाँको पत्रकार हौ?’ भन्ने संकुचित प्रश्नहरू सामना गर्नुपर्छ, जुन सामान्य पत्रकारहरूले भोग्नु पर्दैन।
पत्रकारितामा अवसरको असमानता
नेपालका विभिन्न मिडिया हाउसहरूमा नेतृत्व तहमा दलित समुदायको प्रतिनिधित्व नगण्य देखिन्छ। सम्पादक, समाचार प्रमुख वा ब्यूरो प्रमुखका रूपमा दलित पत्रकारलाई स्थापित गर्ने काममा मिडिया स्वयं पछि परिरहेको आरोप दलित पत्रकारहरूको छ। धेरै जसो अवस्थामा उनीहरूलाई फिल्ड रिपोर्टिङमा सीमित गराइन्छ र नेतृत्वमा उक्लन बाटो बन्द गरिन्छ।
राजनीतिक पहुँचको अभाव
सामान्यतः पत्रकारिता पेशामा अघि बढ्नका लागि राजनीतिक पहुँच, सामाजिक सञ्जाल र सम्बन्धहरू महत्त्वपूर्ण भूमिका खेल्छन्। तर दलित पत्रकारहरू ती पहुँचबाट टाढा राखिन्छन्। उनीहरूले आवाज उठाउँदा ‘दलितले धेरै बोलेको’ भनेर पनि आलोचना भोग्नु पर्ने हुन्छ। कतिपय अवस्थामा उनीहरूका खबरहरू संस्थागत रुपमा बेवास्ता गरिन्छ वा दबाइन्छ।
सामाजिक, सांस्कृतिक तथा आर्थिक चुनौतीहरू
दलित समुदायका अधिकांश व्यक्तिहरू अझै पनि आर्थिक रूपमा कमजोर पृष्ठभूमिबाट आएका हुन्छन्। पत्रकारिताजस्तो अनिश्चित र कम आय भएको क्षेत्रमा टिक्न उनीहरूलाई झनै गाह्रो हुन्छ। न पारिवारिक सहयोग हुन्छ, न त सामाजिक सञ्जाल नै। गाउँघरमा काम गर्ने दलित पत्रकारहरू अझै पनि होटलमा चिया नपाउने, कार्यक्रममा कुर्सी नपाउनेजस्ता समस्याको सामना गरिरहेका छन्।
दलित पत्रकारहरू आफैं बदलिँदै
सकारात्मक पक्ष हेर्ने हो भने पछिल्लो समय दलित समुदायबाट निडर र प्रतिभाशाली पत्रकारहरू उदाउँदै गएका छन्। उनीहरूले समाजमा व्याप्त छुवाछूत, अन्याय र हिंसाका मुद्दाहरू उठाएर जनचेतनाको स्तर वृद्धि गरिरहेका छन्। स्थानीयदेखि राष्ट्रियस्तरका मिडियामा आफ्नो पहिचान बनाइरहेका यस्ता पत्रकारहरूले परिवर्तनको आशा पलाएका छन्।
माइक्रोफोन्का आवाज दबिइरहेका छन्
धेरै दलित पत्रकारहरू साना रेडियो, लोकल अनलाइन वा स्वतन्त्र रूपमा काम गरिरहेका छन्। ठूला मिडिया हाउसहरूले उनीहरूलाई विशेष जिम्मेवारी दिन कम रुचाउने प्रवृत्ति अझै हटेको छैन। दलित समुदायसँग सम्बन्धित विषयहरू रिपोर्ट गर्दा आफू दलित भएको कारण ‘पक्षपाती लेखिएको’ भनेर आरोप लाग्ने डर उनीहरूमा हुन्छ।
संस्थागत आवाजको खाँचो
हालसम्म दलित पत्रकारहरूको समन्वय, सुरक्षा र सशक्तीकरणका लागि छुट्टै पत्रकार सङ्गठनको आवश्यकता महसुस हुँदै आएको छ। पत्रकार महासङ्घ लगायतका संस्थाहरूले समावेशीता उल्लेख गरे पनि त्यो कार्यान्वयनमा पुग्न सकेको छैन। दलित पत्रकारहरूलाई लक्षित तालिम, नेतृत्व विकास कार्यक्रम, वा स्थानीयस्तरमा कोटाअनुसार प्रतिनिधित्वको व्यवस्था छैन।
केही उज्यालो प्रयासहरू पनि
यद्यपि यो अन्धकार मात्र होइन। पछिल्लो समय विभिन्न जिल्लाहरूमा दलित समुदायबाट उदाएका पत्रकारहरूले सशक्त पत्रकारिता गर्दै जनचेतना जगाउने काम गरिरहेका छन्। सामाजिक अन्याय विरुद्ध बोल्दा उनीहरू आफैँ निशानामा परे पनि पछि हटेका छैनन्। कतिपय दलित पत्रकारहरू मानवअधिकार, दलित अधिकार र सामाजिक रूपान्तरणका लागि विशेष रिपोर्टिङमार्फत् उदाहरणीय बनेका छन्।
समाधान के हो ?
पत्रकार महासङ्घ तथा मिडिया काउन्सिलहरूले दलित पत्रकारका लागि विशेष कार्यक्रम ल्याउने
मिडिया हाउसहरूमा समावेशी नियुक्ति प्रणाली लागू गर्ने
जातीय आधारमा हुने विभेद विरुद्ध स्पष्ट आचारसंहिता तयार गर्ने
दलित पत्रकारहरूलाई नेतृत्व विकासमा प्राथमिकता दिने
कानूनी संरक्षण र आपतकालीन सुरक्षा प्रवन्ध मिलाउने
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ