शुक्रबार, बैशाख ६, २०८२

विशेष ब्यूरोका डीआईजी शाहको नेतृत्वमा यसरी पक्राउ परे दुर्गा प्रसाईं


गणेश विक


काठमाडौं । नेपाली राजतन्त्र पुनःस्थापनाका पक्षमा खुलेर लागिरहेका दुर्गा प्रसाई भारतमा लुकीछिपी बसेको अवस्थामा नेपाल प्रहरीको विशेष ब्यूरो र भारतीय गुप्तचर संस्था इन्टेलिजेन्स ब्यूरो (आईबी) को समन्वयमा पक्राउ परेका छन्। विशेष ब्यूरोका प्रमुख डीआईजी सिद्धिविक्रम शाहको नेतृत्वमा भएको १० दिन लामो अनुसन्धान तथा निगरानीपछि उनलाई भारतको असाम राज्यबाट नियन्त्रणमा लिइएको हो।

लुकेर बसेको स्थान पत्ता लगाउने शैली एकदमै फिल्मी

प्रसाई भारतको तामुलपुरस्थित धनसिरीपुर क्षेत्रको एक गाउँमा अभिचन्द्र पाठक नामक स्थानीय हिन्दुवादी नेताको घरमा लुकेर बसेका थिए। प्रसाईले सार्वजनिक गरेको भिडिओमा देखिएको मन्दिरको आधारमा विशेष ब्यूरोका अधिकारीहरूले मन्दिरको लोकेशन ट्र्याक गर्दै उनी लुकेर बसेको स्थान पत्ता लगाएका थिए।

नेपाल प्रहरीको विशेष ब्यूरोका अधिकृतहरू विभिन्न भेषमा ती क्षेत्रमा परिचालित थिए। मन्दिर ट्र्याक भएपछि आईबीसँग समन्वय गरियो, जसले प्रसाईमाथि निगरानी बढायो। अन्ततः चैत २८ गते भारतीय सुरक्षाकर्मीको सहयोगमा उनलाई नियन्त्रणमा लिइयो।

लुकेर बसेको १० दिन, सुरक्षा संयन्त्रको उत्कृष्ट प्रदर्शन
विशेष ब्यूरोका डीआईजी सिद्धिविक्रम शाहको रणनीतिक नेतृत्वमा नेपाल प्रहरीको टोलीले प्रसाईमाथि कडा निगरानी राख्दै भारतको सीमावर्ती क्षेत्रमा ‘ग्राउन्ड अपरेसन’ चलायो। उनले पोष्ट गरेको एउटा मन्दिरको भिडिओबाट उनी लुकेको ठेगाना ट्र्याक गरिनु उच्च-स्तरीय अनुसन्धानको उत्कृष्ट उदाहरण हो।

भारतको सुरक्षा निकाय (IB) ले पनि पूर्ण सहकार्य गर्दै, नेपाली टोलीलाई तामुलपुरमा पहुँच र सुरक्षा सुनिश्चित गरायो। यो समन्वय दुई देशबीचको गहिरो सुरक्षात्मक विश्वासको प्रमाण हो।

नेपाल फिर्ता ल्याउन स्कोर्पियोसहितको टोली


नेपाल प्रहरीको विशेष टोली स्कोर्पियोसहित भारत पुगेको थियो। उनलाई झापा ल्याउन १२ घण्टा लामो यात्रा गरिएको थियो। झापा भद्रपुरमा उनी नेपाल प्रहरी र सशस्त्र प्रहरीको नियन्त्रणमा ल्याइएका हुन्।

शुक्रबार बिहान मात्रै नेपाल प्रहरीका प्रवक्ता डीआईजी दिनेश कुमार आचार्यले प्रसाईको पक्राउ पुष्टि गरेका थिए। प्रारम्भिक समयमा भने प्रहरी प्रशासनले गिरफ्तारीको खबरलाई अस्वीकार गर्दै प्रेस विज्ञप्ति निकालेको थियो। अहिले प्रसाईसहित उनका निजी अंगरक्षक दीपक खड्का पनि प्रहरीको हिरासतमा रहेका छन् ।

राष्ट्रद्रोह र संगठित अपराधको आरोप


काठमाडौं प्रहरीले प्रसाईविरुद्ध राष्ट्रद्रोह, आपराधिक उपद्रव र संगठित अपराधका कसुरमा अनुसन्धान थालेको छ। उनीमाथि हाल १२ दिनको म्याद लिएर अनुसन्धान थालिएको छ।

चैत १५ गते तीनकुनेमा भएको राजसंस्था समर्थक प्रदर्शन हिंसात्मक भएपछि प्रसाई फरार भएका थिए। प्रदर्शनको क्रममा भएको झडपमा दुई जनाको मृत्यु र कैयौं घाइते भएका थिए। त्यसपछिको भिडिओ सन्देशबाटै प्रहरी उनलाई ट्रेस गर्न सफल भयो।

सुपुर्दगी सन्धि नभएपनि ‘बरबुझारथ’ शैलीमा समन्वय


नेपाल र भारतबीच सन् १९५३ मा भएको सुपुर्दगी सन्धि अनुसार अपराधीहरू एकअर्काको देशमा समन्वयमा सुपुर्द गर्न सकिन्छ। यद्यपि, व्यावहारिक रुपमा यो सन्धि झन्झटिलो भएकोले सुरक्षाकर्मीबीच अनौपचारिक ‘बरबुझारथ’ शैलीमै अपराधी आदानप्रदान गरिँदै आएको छ।

समर्थन गुमाउँदै प्रसाई, ‘कमाण्डर’ को दाबी अधुरो


प्रसाईमाथि पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था पुनःस्थापनाको नेतृत्व सुम्पिएको चर्चा भएपनि, यसको कुनै आधिकारिक पुष्टि छैन। भारतमा रहँदा उनले हिन्दुवादी नेता योगी आदित्यनाथसँग भेट गर्न प्रयास गरे पनि सफलता पाएनन्। राष्ट्रिय स्वयंसेवक संघ (RSS) वा विश्व हिन्दु स्वयंसेवक संघ (HSS) को पनि समर्थन नपाएपछि उनी थप निराश भएका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत