कलम समातेको त्यो दिन सम्झन्छु,
सपना थियो— सत्य बोल्ने, अन्यायविरुद्ध लड्ने।
बझाङका खोला, भीर र गाउँलेका आँखामा
आशाको किरण देख्थे, म पत्रकार थिएँ।
तर सत्य बोल्न थालेपछि,
सत्ताका कानहरू रिसाए,
शब्दहरू तीतो लाग्न थाले उनीहरूलाई,
र कान्तिपथ डटकममा छापिएका हरेक खबर
उनीहरूका लागि एउटा खतरा बन्यो।
धम्कीहरू आए—
“त्यो समाचार हटाऊ, होइन भने सम्झ…”
कहिले अदालत, कहिले हिरासत…!
प्रश्नहरू मात्र थिए, तर उत्तर सुन्न कोही थिएन।
हिरासतका साँघुरा भित्ताहरूले पनि चिच्याए
“सत्य बोलेको सजाय यही हो त?”
तर त्यहीँभित्रै म आफैसँग कसम खाएँ—
“म कोहीको डरले कलम रोक्दिन।”
बझाङका गल्लीहरू हिँड्दा
कसैले आँखा तर्साउँछ, कसैले चुप लाग्छ।
तर ती जनताको मौन नजरमा
सत्य खोज्ने विश्वास अझै बाँचेको देख्छु म।
कान्तिपथ डटकम मेरो लागि केवल मिडिया होइन,
त्यो मेरो आत्मा हो—
जहाँ हरेक अक्षरले अन्यायको भण्डाफोर गर्छ।
धेरै पटक थाकें, चिच्याएँ,
“अब त भएन, सक्दिन…”
तर भित्रको पत्रकार म त झन् रिसायो—
“तिमी डरायौ भने, अरू कसले लेख्ने?”
साल फेरिंदैछ…
सपना छ— एक दिन
सत्य बोल्नु अपराध होइन,
सम्मानको विषय हुनेछ।
र त्यस दिनसम्म म लेखिरहन्छु,
पाना भिजाइरहन्छु—
रगत होइन,
श्रम, पीडा र सत्यको मसीले।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ