शुक्रबार, बैशाख ६, २०८२

तिमीले मलाई किन धोका दियाैं ? आभास्ना


गणेश विक


पहिलो नजरमा

एक शीतल विहानी। राजधानी काठमाडौंको बानेश्वर क्याम्पस, जहाँ म Journalism (पत्रकारिता)
समाजशास्त्र विषयमा स्नातक दोस्रो वर्षमा अध्ययनरत थिएँ। त्यहीँबाट सुरु भयो मेरो जीवनको सबैभन्दा गहिरो र अविस्मरणीय कथा—नाम परिवर्तन (आभास्ना ) सँगको कथा।

त्यो दिन शिक्षिका केही ढिला आउनु भएकी थिइन्। मैले झोलाबाट ल्यापटप निकालेर समाचार लेख्न थालेँ। त्यो पल मेरो लागि सामान्यजस्तो लागे पनि नियति त्यहीँ कतै आफ्ना रङहरू खेलाइरहेको थियो।

ढोका नरम तरिकाले खुल्यो। एउटी युवती प्रवेश गरिन्—सादा लुगा, भिजेका कपाल, र आँखामा एउटा अनकन्टार शान्ति। उनी मेरो ठीक अगाडि आएर बसिन्। त्यो नजर… त्यो नजरमा केही थियो—न कुनै माग, न कुनै प्रतिवाद—तर सायद एउटा अनुरोध: “हेर्न सक्छौ मलाई ? बुझ्न सक्छौ के के लुकेको छ मेरो हाँसोभित्र ?”

शिक्षिका आइन्। उनले मलाई सोधिन्, “तपाईं पनि यहीँकाे विद्यार्थी हो?”
मैले सहज मुस्कानसहित जवाफ दिएँ, “हो म्याम, म पत्रकार पनि हुँ, आज अफिस छुट्टी भएकोले कलेज आएको।”

त्यसपछि पढाइ सुरु भयो। आभास्नाले मलाई एकछिन हेरेर मुस्कुराएकी थिइन्—तर त्यो मुस्कान आकस्मिक थिएन, त्यो एक संकेत थियो।

पढाइ सकेर म बाहिर निस्किँदै थिएँ, उनी पछिपछि आइन्। “तपाईंको नाम के हो?” उनले सोधिन्। मैले हाँस्दै भनेँ, “म अफिस जान लागिएको, भेटौँला फेरि।”

सायद त्यही दिनबाट मेरो जीवनको कथा अर्कै मोडमा प्रवेश गर्यो।

फेसबुकमा कुराकानीको सुरुवात

त्यस रात मेरो फेसबुकमा एक रिक्वेस्ट आयो—आभास्ना नामबाट हिजोको त्यो नजर, त्यो चुपचाप मुस्कान अब एक म्यासेजको रुपले मेरो स्क्रिनमा झल्किरहेको थियो।

“तपाईं पत्रकार हो भनेर थाहा पाउँदा राम्रो लाग्यो,” उनले लेखेकी थिइन्। त्यो शब्दहरूमा आत्मीयता थियो, तर एक किसिमको दूरी पनि।

दिन बित्दै गए। हामीबीच संवाद बढ्दै गयो। हरेक म्यासेजसँगै एक नयाँ संसार खुल्दै गथ्र्यो। अफिसको तनाव, भविष्यकाे डर, मेरा नपूगेका सपना—सबै कुरा आभास्ना साझा हुन थाले।

पहिलो भेट अफिसमा भयो। उनी आएकी थिइन्—थोरै लजाएर, तर गहिरो आँखा लिएर। मैले उनलाई हेर्दै भनेँ, “हामी कफी खाउँ है।” त्यो पहिलो कफी हाम्रो सम्बन्धको पहिलो स्वाद थियो। त्यो मिठासले धेरै कुरा बिर्साएको थियो—बाहिरी दुनियाँ, जिम्मेवारी, समयको गति।

हामी दुईको संसार

चार वर्ष हामीले मात्र समय बिताएका थिएनौं, हामीले जिन्दगीका गहिरा अनुभूति बाँडेका थियौँ। कहिले काँधमा टेकेर आँसु बगाउने क्षण, कहिले सँगै हाँसेर संसार भुलाउने पल।

आभास्ना मेरो शब्दमा जीवन खोज्थिन्, म उनको मौनतामा कविता लेख्थें। हामी एक-अर्काको भित्रसम्म पुग्न थालिसकेका थियौं। हाम्रो प्रेम कुनै घोषणामा बाँधिएको थिएन, तर हृदयमा चुपचाप अंकित भएको थियो।

तर प्रेममा विश्वास मात्र हुँदैन, समय पनि चाहिन्छ। सायद मैले त्यो दिन सकेन—जब उसले मेरो आँखाभित्र पहिले झैँ उज्यालो देख्न छोडेकी थिई।

दूरी र मौनता

समयसँगै म व्यस्त भएँ। मेरो अफिसकाे राजनीति, जीवनको दौड। ऊ भने टाढिँदै गइन्—शब्दहरू कम हुँदै गए, जवाफहरू ढिला हुन थाले।

म सोच्थेँ—उसले बुझ्ला, म अझै माया गर्छु। तर सायद उसले सोचेकी थिइन्—म अब माया गर्दिनँ। यहीँनेर हाम्रो अन्तरदृष्टि टकरायो।

मैले रातहरूमा उसलाई सम्झिएँ। उसका मनका प्रश्नहरू उत्तरबिहीन रहँदै गए। अनि मेरो मौनता, उसको एक्लोपन बन्यो।

साँचो यथार्थ

एकदिन थाहा पाएँ—उसले अर्को केटा रोजेकी थिइन्। सुरुमा विश्वास लागेन। मैले बारम्बार आफ्नो मुटुलाई सोधेँ, “के मैले साँचो माया गरेनँ र? के मेरो साथ उसलाई सधैं अपुरो लाग्थ्यो?”

तर यथार्थ चुपचाप रहँदैन। उसले अब मलाई आफ्नो जिन्दगीबाट हटाइसकेकी थिइन्।

आँसु र स्वीकारोक्ति

म थकित थिएँ। प्रेमको यात्रामा हारेको एउटा यात्री जस्तो। चार वर्षका हरेक सम्झनाहरू एकअर्को चोट बनेर फर्किरहेका थिए।

तर मैले आँखा चिम्लिएँ र आफैँसँग भनेँ, “प्रेम आफैँमा पूर्ण हुन्छ। जबरजस्ती बाँधेर राखिँदैन।” म उसलाई बाँध्न चाहन्न। उसको स्वतन्त्रता नै मेरो साँचो माया हो।

सधैंको विदाइ

आज पनि म आभास्नालाई सम्झन्छु। उसको हाँसो, उसको झुटो मौनता, अनि हाम्रो पहिलो नजर। त्यो नजरले प्रेम सुरु गर्यो, तर त्यो नजरले नै अन्त्य पनि ल्यायो।

आभास्ना, म तिमीलाई आज पनि माया गर्छु। तर त्यो माया अब बाँधिएको छैन। त्यो माया अब शब्दहरूमा छ, आत्माको गहिराइमा छ।

सधैं खुसी रहनु, मेरी सधैं अधूरी रहिरहेकी प्रियतमा। तिमीलाई सदाको लागि विदा — तिम्रो पागल प्रेमी, गणेश।

“कसैको नामसंग मेल खान गएमा संयोग मात्र हुनेछ।”



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत